पोखरा/बागलुङ, बैशाख १४ । कोरोना भाइरसबाट आफू पनि संक्रमित भएको थाहा पाउँदा अंशु सापकोटा ९१९० र मनकुमारी पौडेल ९६५० को सुरुमा त होसहवास उड्यो।
विश्वभर दैनिक हजारौं मानिसको यही रोगले ज्यान लिइरहेको अवस्थामा सापकोटा र पौडेलले आफू पनि संक्रमित भएको थाहा पाउँदा आत्तिनु स्वाभाविक पनि थियो। तर उच्च मनोबल बनाएका दुवैजना सकुशल घर फिर्न पाएका छन्। त्यसमा पनि १५ वर्षदेखि दमको समस्या भोगिरहेकी पौडेललाई निको हुँदा त झन् सबैतिर खुसीयाली छाएको छ।
विश्वभरमै कोरोनाका कारण ज्यान गुमाउनेमा दम, उच्च रक्तचापजस्ता दीर्घरोगी बढी भएको विवरण बाहिरिएका छन्। दमकी दीर्घरोगी पौडेललाई पछि उच्च रक्तचाप पनि देखिएको थियो।
दुवैजनाले कोरोनाका लागि भनेर कुनै पनि औषधि सेवन गर्नुनपरेको चिकित्सकले बताएका छन्। सापकोटा र पौडेलमात्र नभई नेपालका अरु पनि कोरोना संक्रमित उपचारपछि सहजै घर फर्किन सकेका छन्। बागलुङका यी दुई महिला निको भएसँगै गण्डकी प्रदेश कोरोनाका बिरामीबाट हाललाई मुक्त भएको छ।
बागलुङमा भेटिएका यी दुई बिरामी गत चैत ४ गते कतार एयरवेजको एउटै जहाजबाट नेपाल आएका थिए। बेल्जियमबाट नेपाल आएका उनीहरुलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। एकै जहाजमा आएका बागलुङका चारजनामध्ये सापकोटा र पौडेलमात्र संक्रमित भएका थिए। नागरिक दैनिकबाट