Logo

ओली-नेपाल एक्ला एक्लै भेट, राजनीतिक लेनदेनबारे छलफल



काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्धन्द्ध चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वन टु वन भेटवार्ता भएको छ । दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका छन् । उनले आफूले चालेका कदमहरुको उद्देश्यबारे समेत नेता नेपाललाई स्पष्ट पार्न खोजेका छन् । तर, नेपालले पार्टी निर्णयलाई बेवास्ता गर्दै कदमहरु चाल्दा साख गिरेको भन्दै सचेत गराएको बुझिएको छ ।

दुवै नेताबीच भविष्यमा राजनीतिक लेनदेनको विषयमा समेत छलफल भएको स्रोतले बतायो । तर, त्यो लेनदेन के हो स्पष्ट खुलेको छैन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको विषय बाहिर आएको छ । त्यसमा नेपालले शर्तसमेत राखेको बुझिएको छ ।

नेता नेपालले आफू निकटस्थसँग भविष्यमा चाल्ने कदमका बारेमा छलफल गरिसकेका छन् । उनलाई प्रधानमन्त्री बनेर पार्टीको अधिकार नछाड्न विश्वासपात्रहरुले सम्झाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्