सबैका आफ्नै भाउँतो, कुरा टुंगिने ठाउँमा पुग्दा सबैलाई पछुतो ।
यस्तो कष्टदायक प्रसंग हो, डा.बाबुराम भट्टराई,अशोक राईहरुको नेतृत्वमा पुगेका पूर्वमधेसीहरुको ।
यता केपी ओली त्यताका असन्तुष्टलाई बोलाएर बेग्लाबेग्लै डिल गर्ने । उता पारीको योजनामा ‘उपेन्द्रको भर छैन, अरुबाट पार लाग्दैन’ भन्ने निश्कर्षसहित डा.बाबुरामलाई अगाडि सारेर नयाँखाले मोर्चाबन्दी त बन्यो । तर, मोर्चाबन्दी यस्तो कि, को, कतिबेला कहाँ पुगेर, के गर्छन् टुंगै नहुने । अर्थात्, फेरि पनि ‘भ्यागुताकै धार्नी’ भनेजस्तो ।
जनकपुरदेखि काठमाडौंसम्म सँगै मासुभात खाएर, मीठा पान र जर्दा पान साटासाट गर्दै काठमाडौं आइपुग्दा ‘अपहरणमा पर्ने’, कोही भित्रभित्रै बालुवाटारसँग यति प्याक हुने कि,अनुमान गरिसाध्ये छैन । यो झमेलाको स्रोतचाहिँ कुनै सैद्धान्तिक, राजनीतिक वा वैचारिक होइन, सबै व्यक्तिगत । जीवनभर मार्क्सवाद पढेर,पढाएर, वैचारिक अभ्यास गर्दै, द्वन्द्वात्मक भौतिकवादी कार्यशैलीका साथ यहाँसम्म आइपुगेका बाबुराम,अशोकहरुमाथि अहिले ‘भ्यागुताको धार्नी’ जिम्मा आइलागेको चर्चा छ !
उपेन्द्र यादवसँग रेणु यादवको चित्त दुखाई आजदेखिको होइन,अढाई वर्षदेखि नै थियो । कारण हो,छोरा अभिषेकलाई प्रदेश २ को सरकारमा मन्त्री नबनाइनु । अभिषेकले सप्तरीको प्रदेश सभा ४ (२) बाट कांग्रेसका विवेकानन्द झालाई २ हजार २ सय ६९ मतले पराजित गरेर चुनाव जितेका हुन् । एकातिर छोरा प्रदेश मन्त्री भएनन्, अर्कातिर पार्टीले केपी ओली सरकारमा दुईवटा मन्त्रालय पाउँदा आफूलाई एउटा दिइएनमात्रै होइन, सोधखोजसम्म गरिएन ।
डा.सुरेन्द्र यादव, इस्तियाक राइन, प्रदीप यादव पनि उपेन्द्रसँग उत्तिकै असन्तुष्ट, कारणचाहिँ व्यक्तिगत । उनीहरु ‘मर्नु कि बहुलाउनु” भने झैं सांसदबाट राजीनामा दिएर घर बस्ने कि पार्टी फुटाउने भन्नेमा पुगेका । सांसदबाट राजीनामा दिएर घर बस्ने कुरा मरेतुल्य हुने। त्यसैले पार्टी फुटाउनु उचित हुने भन्नेमा लाग्न बाध्य भए । तर, ‘कताको खैँजडी, कताको बाँसुरी’ भनेजस्तो लय नमिलाइकन आ–आफ्नै तालमा लाग्नाले तत्कालका लागि त्यो काम पनि फत्ते हुन सकेन ।
इस्तियाक राइन शुरुदेखि नै केपी ओली निकटस्थ। आफ्नो पार्टीको अध्यक्ष उपेन्द्र, तर बढी माया पाउने केपीबाट । त्यसैले उनलाई केपीले राम्रो बजेटसहितको शहरी बिकास मन्त्रालय दिए । उपेन्द्रले सरकारबाट बाहिरिनका लागि निहुँ खोजेको इस्तियाकलाई मन परेको थिएन । उनको सरकारबाट बाहिरिने चाहना थिएन । तर, उपेन्द्रले एउटै कागजमा सबैको राजीनामा लेखेर लगेपछि ‘नाइँ’ भन्न नमिल्दा मन्त्री पद गुमाए ।
अहिले बजारमा गर्माएका डा.सुरेन्द्र यादवको कुरा फरक छ । पहिला राज्यमन्त्री चलाएको ठाउँमा स्वास्थ्य मन्त्री पाइने लोभमा जनकपुरबाट हाँसीखुशी काठमाडौं आइपुग्दासम्म ठीकठाक थिए । तर,क्याबिनेट हैन, फेरि राज्यमन्त्रीमै थन्किनुपर्ने सूचना पाएपछि पछाडि हटे । वास्तवमा उपेन्द्र कानुन मन्त्री भएकै दिनदेखि उनी रुष्ट थिए । मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्यबाट उपेन्द्र कानुनतिर सारिए । उनी दिल्ली हुँदै त्यस्तो निर्णय भयो । फर्किएर आएपछि शपथ लिए । तर, स्वास्थ्यमा हुँदाका राज्यमन्त्री डा.सुरेन्द्रलाई कानुनतिर त्यही हैसियतमा लगेनन् । यहीँबाट हो,सुरेन्द्रले अपमानित महसूस गरेको ।
प्रदीप यादवका कारण उपेन्द्रलाई पीर । प्रदीप पहिलादेखि नै सीमा व्यापारमा संलग्न । यस्तो हुँदा सीमावर्ती जिल्लाका प्रहरी अधिकृतहरुसँग सघन सम्बन्ध रहने नै भयो । त्यसमाथि चुट्कीको भरमा बिहारका मुख्यमन्त्री नितिशकुमारसहित भारतीय राजनीतिका खेलाडी राजनाथदेखि अमित साहहरुसँग समय लिन र कुरा राख्न सक्ने । फेरि उनै प्रदीपले पर्साबाट पाँचजनालाई चुनाव जिताएका । उपेन्द्रलाई प्रदीपले यो शक्ति आर्जन गरेको कुरा पनि मन परेको थिएन । पोहोर वैशाख २४ देखि २७ गतेसम्म युरोपेली मुलुक लातभियाको राजधानी रिगामा विवादास्पद स्वतन्त्र तिब्बत अभियानका नेताहरुको भेलामा सहभागी भएबापत उपेन्द्रले स्पष्टिकरण सोधे । स्पष्टिकरण बुझाउन नपाउँदै ६ महिनाका लागि पार्टीबाट निलम्बित पनि गरिदिए । निलम्बन त ६ महिनापछि स्वतः सकियो, तर उपेन्द्रलाई ‘देखाइदिने’ प्रदीपको धोको अझै पूरा भएको छैन ।
अर्का सांसद हुन् विमल श्रीवास्तव । उनी उपेन्द्रले मन नपराउने जातीय समुदायका मान्छे । समुदाय मन नपरे पनि पार्टीमा सबैखाले मानिस चाहिने कारण उपेन्द्रले विमललाई पहिलादेखि नै छिराउने प्रयास गरे । तर, विमल उपेन्द्रका कटु आलोचक । उनी आलोचक हुनुको अरु कारण होइन, जातीय नै हो । अनि, विमल ०६३ मा महन्थ ठाकुरहरुसँगै तमलोपामा गए । तर, चुनावको बेला टिकटको लफडा चल्यो । त्यसपछि प्रदीप यादवमार्फत विमल आफैँ उपेन्द्रकहाँ पुगे । ६–७ महिना भयो, विमल र उपेन्द्रको पानी बाराबार छ । यिनलाई पनि लोभ हो,मन्त्रीकै ।
यसरी उपेन्द्रको कोटरीमा खैँजडीको धुन चाल पाएर बालुवाटारमा बाँसुरी बज्न थाल्यो । असन्तुष्टहरुलाई विभिन्न माध्यमदेखि सोझै प्रमले एक–एक कुरा गर्ने, बचन दिने श्रृंखला शुरु भयो ।
रेणुलाई जसरी पनि सेटल गर्छु भन्ने बचन दिइएको थियो । बाँकी सबलाई मन्त्री बाँडिएको थियो । रेणुका हकमा त उपसभामुख बनाउने भनेर एक हप्ताअघिसम्मको तयारी नै थियो । त्यही कुरा सम्झिएर दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याइयो । तर, बाँकी रहेका इस्तियाक, डा.सुरेन्द्र, विमल र प्रदीपहरुलाई एकसाथ मन्त्री दिन सम्भव थिएन । अनि, राज्यमन्त्री खान कोही तयार नहुने ।
यसरी, उपेन्द्रलाई छाड्न तयार भएकाहरुले साझा समझदारी बनाएनन् । बरु, एउटाले अर्कोको कुरा चाल पाउला भनेर सुटुक्क–सुटुक्क भेट्न र कुरा गर्न पल्किए । आखिर उही पोखरीका यी माछाहरु एक न एक दिन, कतै न कतै ठोक्किने नै भए । जब ठोक्किए, अनि चाल पाए, पार्टी फुटेपछि सबै ठण्डाराम ।
यही कुरालाई बालुवाटारबाट संस्थागत योजनाका साथ अगाडि बढाइएको र उपेन्द्रका असन्तुष्टहरुसँग सामुहिक छलफल चलाइएको भए व्यवस्थित विभाजन हुने स्थिति रहन्थ्यो । तर, पहिला कुकुरले आची लुकाएजस्तो भित्रभित्रै खेलियो । अपरिपक्व योजना असफल भएपछि त्यही कुरा डुङ्डुङ्ती गन्हायो ।
- मिलन (खिलबहादुर) थापा, (जनआस्थाबाट साभार)