काठमाडौं, १६ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको स्थायी कमिटी बैठक तत्काल बोलाउनुपर्ने भन्दै सबैको ध्यान अहिले त्यतातिर जानुपर्ने बताएका छन् । यद्धपी उनले पार्टीभित्रको विवाद हल गर्ने विषयमा भएका अनौपचारिक छलफलप्रति भने कुनै आपत्ति जनाएनन् । ज्ञवालीले पार्टी भनेको कुनै व्यक्ति नभएको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई कडा टिप्पणी गरे । सोमबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,”पार्टी भनेको व्यक्ति होईन्, पार्टी भनेको दुई चार जना मान्छे बसेर टालटुल कुरा गरेर हुँदैन् । पार्टी भनेको कमिटी हो । सचिवालय हो । स्थायी कमिटी हो । केन्द्रीय कमिटी हो । केन्द्रिय कमिटी त सर्वशक्तिशाली संस्था हो । त्यसो भएको हुनाले अनौपचारिक कुराहरु धेरै ठाउँमा भएका छन् । हुनुपर्छ । र, यो भइरहन्छ ।”
बरिष्ठ नेता माधवकुमार नेपालको निवासमा ओली पक्ष र नेपाल पक्षबीच छिटोभन्दा छिटो सचिवालय बैठक डाक्ने सहमति भएको ज्ञवालीले सुनाए । उनले थपे,”त्यसपछि स्थायी कमिटी बैठक डाक्ने र त्यहाँ खुल्ला खुल्ला कुरा राख्ने । तथ्य, प्रमाण र कारणहरु सबै राख्ने भन्ने सहमति छ । त्यहाँ गएपछि धेरै खालका भ्रमणहरु, अन्यौलहरु हट्छ। सबै कुरा त्यहीँ गएर थाहा हुन्छ । कसको के अडान हो ? त्यो कुरा त्यहीँ गएर थाहा हुन्छ ? कसले के प्रमाण ? र तथ्यहरु दिन्छ ? कस्तो विश्लेषण गर्छ ? द्धिपक्षीय भेटघाटमा खुलस्त कुरा आउँदैन् । कमिटीको बैठकमा खुलस्त कुरा आउँछ । अहिले केही सहमति भएको छैन् । बैठक बसेपछि मात्रै अन्तिम निश्कर्ष आउँछ ।”
स्थायी कमिटीको बैठक नबस्दै नेताहरुले सहमति गरे स्थायी कमिटीका मान्छेहरु रमिता हेरेर नबस्नेसमेत उनले चेतावनी दिए । उनले भने,”यत्तिकै लेखेर दिएको छ २० जनाले ? स्थायी कमिटीका सदस्यहरुले ४०, ५० वर्ष यो पार्टी निर्माणमा जेल परेका, भूमिगत परेका, युद्ध लडेका, सारा पढेका, लेखेका, विद्धान, बुद्धिजिवीहरु सारा एकसे एक सारा विशेषता र क्षमता भएका मान्छे छन् । प्रधानमन्त्री र अध्यक्ष हुने हैसियत भएका मान्छेहरु अहिलेपनि स्थायी कमिटीमा छन् । अब अध्यक्ष र प्रधानमन्त्री हुन के गर्नुपर्छ ? चुनिनुपर्छ । चुनिएन भएन । जो निर्वाचित भएर आउनुभयो, उहाँहरु हुनुभयो । घट्नाक्रमको एक एक विश्लेषण गर्ने क्षमता भएका मान्छेहरु स्थायी कमिटीमा छन् त्यहाँ भएका मान्छेहरुको निर्णय हुन्छ ।”
उनले अहिले पार्टीभित्र चलिरहेको भेटघाटको अब अर्थ नहुने भन्दै तत्काल सचिवालय बैठक बोलाएर छलफल गर्न शीर्ष नेताहरुलाई सुझाव दिए । उनले भने,”यो व्यक्तिगत भेटघाटको कुनै अर्थ छैन् । आज मसँग भेटेर एउटा कुरा गरिरहेको छ। अर्कोसँग भेटेर अर्के कुरा भएको छ । यसको कुनै अर्थ हुँदैन् । तर, स्थायी कमिटीमा आएपछि खुल्ला खुलस्त कुरा त्यहीँ हुन्छ । अन्तिम कुरा त्यहीँ हुन्छ । अन्तिम निर्णय स्थायी कमिटी र केन्द्रीय कमिटीमा हुन्छ ।”
ज्ञवालीले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनै नहुने थियो र आफूहरुले ल्याउनेबित्तिकै फिर्ता लिन माग गरेको र सरकारले फिर्ता गरेको भन्दै धन्यवाद दिए । उनले थपे,”पहिलो कुरा यो अध्यादेश ल्याउनै हुँदैनथियो । देशभरि वातावरण प्रतिकुल भयो । उहाँले फिर्ता गर्नुभयो राम्रो भयो । तर, अब के गर्ने त ? पार्टी कसरी चलाउने हो ? सरकार कसरी चलाउने हो ? अहिलेसम्म कसरी चलिआयो ? एकताको प्रक्रिया कसरी चल्दै आयो ? यसको समिक्षा हुनुपर्यो नि । हामी भन्छौं नि के के हुनुपर्ने र के के भएन भनेर ।” प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्थायी कमिटी बोलाउँदिन भनेर भन्न नमिल्नेपनि उनको भनाई । उनले भने-“यसरी पार्टी चल्छ ? सरकार चल्छ ?”