काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोमबार मध्यरातसम्म भेटेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदका अर्का सदस्य सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आज विहान उनले सभामुखसँग बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीले विवादास्पद अध्यादेश ल्याएर जसरी फिर्ता गरे त्यसको सम्बन्ध संसद र सभामुखसँग पनि हुनजान्छ । संवैधानिक परिषदले संवैधानिक आयोगमा रिक्त पदहरुमा नियुक्त गर्न बाँकी छ । यसका लागि अहिलेको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको साथ छँदैछ । अब उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सभामुख अग्निप्रसाद सापकोटाको साथ चाहेका छन् । हाल पाँचजना रहेको परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको समेत सहमति भएमा सर्वसम्मतबाट चयन हुनसक्छ ।
आजको भेटमा संवैधानिक आयोगमा नियुक्ति संसदको आगामी अधिवेशनलगायतबारे छलफल भएको बुझिएको छ । नेकपाभित्र घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको साथ खोजेका छन् । अर्कोतर्फ, सभामुख सापकोटालाई एउटा आरोपले पिरोलेको छ । उनीमाथि काभ्रको अजुर्न लामा हत्याको आरोप छ । अदालतमा समेत मुद्दा परेको यो घटना फेरि ब्युँतिने डरले सापकोटालाई सताएको छ । सर्वोच्च अदालतले यसै हप्ता द्धन्द्धकालिन गम्भीर मानवअधिकार उल्लंघनको घटनामा आममाफी दिन नमिल्ने गरी फैसला गरिदिएको छ । जसका कारण सापकोटोको टाउकोमाथि पनि तरबार झुण्डिएको छ ।
ओलीले सोमबार प्रधानन्यायाधीश जबरालाई भेटेर बुधबार सापकोटालाई डाक्नुले कुनै राजनीतिक लेनदेनको विषय त हुनलागेन ? यो आशंका बढेको छ । राजनीतिक गोटी कुटिलतापूर्व चाल्न सक्ने प्रधानमन्त्री ओलीले एकपछि अर्को गोटी चालेर पार्टीभित्र र बाहिर विरोधीलाई साइजमा राख्ने गरिरहेका छन् । उनको पछिल्लो भेटहरुलाई यसैसँग जोडेर हेर्न सकिन्छ ।