काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य विजय सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका काठमाडौंमा उपलब्ध सांसदहरुसँग बालुवाटारमा छलफल गरेको र सो छलफलमा पार्टी संकटमा रहेको कुरा सुनाएको बताए । प्रधानमन्त्री ओलीले ताजा परिस्थितिबारे जानकारी दिएको उनको भनाई छ । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद सुब्बाले प्रधानमन्त्री ओलीले भनेको कुरा यसरी सुनाए,”हाम्रा पार्टीका नेताहरुले जसरी पनि र जुनसुकै उपाय गरेर भएपनि मेराविरुद्धमा काम गरिरहनुभएको छ ।”
प्रधानमन्त्री ओलीले अध्यादेशको विषयमा जोडेर कुरा गरेको र अर्को कुरा सरकार यति राम्रोसँग चलिरहेको र विगतमा कुनैपनि प्रधानमन्त्रीले नसोचेको कुरा, गर्नुपर्ने कुरा तर नसोचेको कुरा आफूहरुले गरिरहेको पनि आफूसँगको भेटमा सुनाएका थिए ।
उनले भने,”उहाँले यति धेरै काम गर्दापनि सरकारले गरेका राम्रा कामहरुको कुनै प्रचार नगरिनु, यतिसम्मकी प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमहरुमा पनि बरिष्ठ नेताहरु गएर समेत सरकारको राम्रा कामको चर्चा नगर्नु, बरु जहाँ-जहाँ भेटिन्छ केपी ओलीका विरुद्ध नराम्रा कुरा उछालेर जताततै अराजक ढंगले मेराविरुद्ध घेराबन्दी भएको छ, भोलि मेराविरुद्ध घेराबन्दीमा अहिले मैले जुध्नुपरेको छ । यो कुरा मैले तपाईहरुलाई भन्नुपर्छ भन्ने ठानेर बोलाएको भन्नुभयो ।” उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद कुनैपनि हालतमा नछोड्नेपनि दाबी गरे । ओलीविरुद्ध गरिएका सबैखाल षड्यन्त्रलाई परास्त गर्ने पनि उनको भनाई छ ।