काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक विना निस्कर्ष टुंगिएको छ । साँढे ३ घन्टा चलेको बैठकमा नेताहरुबीच गम्भीर छलफल भएको बुझिएको छ । बैठकमा नेताहरुबीच गर्मागर्मी बहस भएको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ ।
बैठकमा नेताहरुले सरकारको समिक्षा गर्दै गम्भीर गल्ती भएको औल्याएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल आक्रामक रुपमा प्रस्तुत भएका थिए । ओली भने रक्षात्मक रुपमा प्रस्तुत भएका थिए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक २० वैशाखका लागि बोलाइएको जानकारी दिए । बैठकमा स्थायी कमिटि बैठक डाक्नेबारे छलफल भएपनि अर्को बैठक बसेपछि मात्र टुंगो लाग्ने बुझिएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सचिवालयका अन्य सदस्यहरु सक्रिय भइरहँदा बैठक डाकिएको थियो । वारपार हुने भनिएको बैठक तीन दिनपछि हुने गरी तय भएपछि नेकपाभित्रको विवादले अझै निकास निकाल्न नसक्ने देखिएको छ ।