काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य वेदुराम भुषालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए दुवै पदबाट हटाउने चेतावनी दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले पार्टीको स्थायी कमिटीको बैठक राख्न प्रधानमन्त्री ओली तयार हुनुपर्ने धारणा राखेका छन् ।
पार्टीको विधानमा नै प्रत्येक तीन महिनामा स्थायी कमिटी बैठक बस्ने भन्ने कुरा स्पष्ट रुपमा लेखिएको सुनाउँदै त्यसलाई पनि नेतृत्वले ध्यान दिनुपर्ने भुषालले बताए । उनले भने,”हामीले गएको पुष १३ गते स्थायी कमिटीको बैठक सकेका थियौं । यो बैशाख १३ गते त चार महिना पूरा भयो । पहिले विधानअनुसार बैठक नबस्दा पार्टी अध्यक्षहरुको हामीले कडा आलोचना गरेका थियौं । उहाँहरुले पनि अब कमजोरी गर्दैनौं भनेर भन्नुभएको थियो ।”