Logo

ओम्नीसँगको खरिदमा राज्यले थप तीन करोड गुमायो



काठमाडौं, बैशाख १९ । स्वास्थ्य सेवा विभागले दुुईपटक खरिद गरेको कोरोना भाइरस जाँच्ने (यापिड डायग्नोस्टिक किट (आरडिटी) को मूल्य अन्तर प्रतिथान चार सय पाँच रुपैयाँ देखिएको छ।

मन्त्रालयले केही दिनअघि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग प्रतिथान आरडिटी नौ सय ७० रुपैयाँमा खरिद गरेको थियो। विभागले बुधबार विद म्यानेजमेन्टसँग गरेको अर्को सम्झौताअनुसार प्रतिथान आरडिटी किट पाँच सय ६५ रुपैयाँमा आउने भएको छ।

दुईपटकको खरिदमूल्य अन्तर तुलना गर्दा ओम्नीसँगको खरिदमा राज्यले तीन करोड रुपैयाँ थप गुुमाउनुपरेको छ। विभागले ओम्नीसँग बिनाप्रतिस्पर्धा ७५ हजार थान आरडिटी खरिद गरेको थियो।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले एक लाख थान आरडिटी किट खरिद गर्न विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता भएको जानकारी दिए। उनले प्रतिकिट पाँच सय ६५ रुपैयाँमा ल्याउने गरी सम्झौता गरेको बताए। ओम्नीसँग खरिद गरेको आरडिटी किटभन्दा अहिले खरिद गर्न लागिएको किट गुणस्तरीय भएको उनको भनाइ छ। यो आरडिटी किटमा आइजिएम र आइजिजी छुट्याउन सक्ने क्षमता रहेको डोटेलको दाबी छ।

स्वास्थ्य मन्त्रालयले ओम्नीसँग प्रतिथान आरडिटी नौ सय ७० रुपैयाँमा खरिद गरेको थियो। त्योभन्दा गुणस्तरीय किट पाँच सय ६५ रुपैयाँमा ल्याउने गरी सम्झौता भएको छ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीसँग किनेको सामानको मूल्य बजार भाउभन्दा २० प्रतिशत बढी भएको दाबी गर्दै आएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्