Logo

बामदेवलाई सांसद बनाउन उपचुनावको अर्को अस्त्र



काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतम सुरथको एक्का भएका छन् । विवाद उत्कर्षमा पुगिरहँदा २० वैशाखमा सचिवालय बैठक बस्दैछ । त्यसले वार पारको मार्ग कोर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लैसँग संसदीय दलमा बहुमत नभएपछि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेका छन् । तर, बामदेव सांसद छैनन् । उनलाई राष्ट्रियसभामा लगेपनि संविधानले प्रधानमन्त्री बन्न दिदैन । बामदेवलाई ओलीले वास्तवमै प्रधानमन्त्री बन्न सहयोग गर्न लागेको हो भने विकल्प नभएका होइनन् ।

कि त बामदेवले अर्को चुनाव कुनुपर्छ कि त उपचुनावबाट चुनिएर आउनुपर्छ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनापछि बामदेवले उम्मेदवार बन्ने तयारी नगरेका होइनन् । तर, पोखरातिरबाट उनका विश्वासपात्रहरुले अन्तर्घातको पूर्वतयारीको सुचना पठाए । उनी पछि हटे । रवीन्द्र पत्नी विद्या भट्टराईले चुनाव जितिन् ।

बामदेवले राष्ट्रियसभामा जान शर्त राखेका थिए । उनले संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न भने । तर, ओली, प्रचण्डलगायतका नेताहरु तै चुप मैं चुप भए । अहिले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीबाट आएको छ । विकल्प नभएको होइन । त्यसका लागि उनका लागि कुनै सिट खाली गर्नुपर्छ । बामदेवलाई सिट छाड्न तयारहरु नभएका होइनन् । रामवीर मानन्धरले काठमाडौंबाट सिट छाड्छु भनेका थिए । रामवीरले जितेको क्षेत्र नेकपाको सुरक्षित क्षेत्र हो । तर, पछि कुरा बिग्रियो । जे होस् त्यति बोल्दा रामवीरले पुरस्कारस्वरुव शहरी विकास मन्त्रालयमा राज्यमन्त्री बन्ने मौका पाए ।

बामदेवका लागि उपचुनाव गराउन नसकिने नभएको नेकपाभित्र नै भन्न थालिएको छ । डोल्पाबाट धनबहादुर बुढाले छाडेर बामदेवलाई चुनाव लडाउने विषय पनि आएको थियो । तर, कुरा बिग्रियो । अहिले पाल्पाका दलबहादुर राना मगर बामदेवका लागि छाड्न तयार भएको बुझिएको छ । दलबहादुर बामदेवका विश्वासपात्र हुन् । उनी पाल्पाबाट सानदार मत ल्याएर जितेका थिए । त्यहाँ नेकपाको गढ मानिन्छ ।

कास्कीका खगराज अधिकारीको पनि कुरा नआएको होइन । त्यहाँ पनि नेकपाको गढ मानिन्छ । तर खगराजले जितेको भन्दा दानबहादुरले जितेको क्षेत्रमा चासो दिइएको छ । बामदेवलाई साँच्चै प्रधानमन्त्री बनाउन खोजिएको हो भने यसतर्फ प्रक्रिया थाल्नुपर्ने उनी पक्षधरको भनाई रहेको छ । यसका लागि ओलीका विश्वासपात्रहरुसँग बामदेवका मान्छेहरुले कुरा बढाइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्