काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर राजनीति गरेको टिप्पणी गरेका छन् । त्यस्तै, उनले पार्टीभित्र दुई दुई जना अध्यक्ष हुँदाहुँदै माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउनेगरि ओलीले गरेको प्रस्तावपनि राजनीति नै भएको बताए । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद बिडारीले यस्तो बताएका हुन् ।
उनले भने,”यसलाई भन्छ राजनीति । राजनीति बढ्याँईको नीति बनाएका छन् । राज्यका, जनताको हितको निम्ति गरिने नीतिको नाम राजनीति हुनुपर्ने । यहाँ त दुस्ट्याँई गर्ने, बढ्याँई गर्ने, छलपकट गर्ने चीजको नाम राजनीति भईदियो । त्यस्तो गर्नुहुँदैन् । त्यसकारणले सोझो सोझो कुरा गर्नुपर्यो । म प्रधानमन्त्रीलाई पनि यही मेरो सल्लाह छ ।”