Logo

राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने मजदुरको भविष्य सुरक्षित हुनुपर्छ : मुख्यमन्त्री पौडेल



हेटौँडा, १९ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका मजदुरहरुको भविष्य सुरक्षित हुनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जीवनभर उत्पादन र निर्माणमा पसिना बगाएका मजदुरको जीवनको उत्तराद्र्धको समय सुरक्षित गर्ने दायित्व राज्यको भएको बताए । “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यही कुरा महसुस गरेर नै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो”, उनले सन्देशमा भने, “वाग्मती प्रदेश सरकार पनि मजदुरको हकहित र पेशागत सुराक्षाका लागि प्रतिबद्ध छ ।”

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणविरुद्ध मुलुकमा लकडाउन गरिएको छ, यस्तो अवस्थामा मुलतः मजदुर र त्यसमा पनि दैनिक ज्यालादारीका मजदुरलाई समस्या परेको यथार्थबाट सरकार अनविज्ञ छैन भन्दै त्यस्ता समस्यामा परेका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहमार्फत काम भइरहेको बताए । उनले सन्देशमा भने, “कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्थाको निर्माणमा सरकार दृढ़ छ ।”

मुख्यमन्त्री पौडेलले सामाजिक एवं भौतिक दूरी कायम गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने तयारी पनि थालिसकिएको हुँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरुले समेत कामविहीन भएर बस्नुपर्ने अवस्था चाँडै अन्त्य हुँदैछ भने ।

मुख्यमन्त्री पौडेलले उत्पादन र निर्माणका मूलस्रोत मजदुरलाई संसारले सम्झने दिन मे दिवस अर्थात् श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गरेका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्