Logo

बामदेव गौतम ओलीको प्रधानमन्त्री कार्डबाट नाँच्न थाल्नुभयो- राधाकृष्ण मैनाली



काठमाडौं, १९ वैशाख । राधाकृष्ण मैनाली पूर्वमन्त्री हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा राम्रोसँग चिन्ने बुझ्ने नेतामध्ये उनी पनि एक हुन् । उनले ओलीको स्वभावमात्र नभएर नेकपाका नेताहरुको स्वभावको खुलासा गरेका छन् । लामो समय कम्युनिस्ट राजनीति गरेका मैनालीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ सम्भव होला ?
उहाँले मुखले त भन्नुभयो तर प्राक्टिकली र संवैधानिक रुपले त्यो संभव छैन । किन भने बामदेवजीले निर्वाचन हार्नुभएको छ । अहिलेको संविधान अनुसार निर्वाचन जितेर सांसद् भएसम्म प्रधानमन्त्री हुने सम्भावना छैन । कुनैलाई पद खाली गराएर निर्वाचन गराएर जिताएर ल्याउन एकडेढ वर्ष लाग्छ । त्यो गरिकन संविधान संशोधन गरेर अपरहाउसमा लाने भन्ने कुरा पनि एक्लो नेकपाको बुतामा त्यो चल्दैन । अब बामदेवजी तपाईलाई प्रधानमन्त्री बनाइदिन्छु भने त्यतिकै पुलकित भइहाल्छन् । त्यसकारण यो वामदेवलजीलाई अलमल्याउनको लागि हो । वास्तवमा लागु गर्न होइन भन्ने लाग्छ ।
बामदेव गौतमले हिजो एमाले पार्टी पनि फोर्नुभयो तपाईंको अनुभवमा उहाँ कस्तो व्यक्ति हो ?
यो दुई, चार वर्षदेखि उहाँलाई के लागेको हो मलाई थाहा भएन् । तर, प्रधानमन्त्री पदलाई उहाँ जीवनकै सबैभन्दा ठूलो वस्तुको रुपमा बुझ्नुभएको छ । अनि कुनै पनि व्यक्तिले तपाईंलाई प्रधानमन्त्री बनाउने भन्यो भने राति १२ बजे पनि उठेर नाँच्न थाल्नुहुन्छ । मिल्छ मिल्दैन त्यतातिर सोच्नुहुन्न । भलै उहाँ प्रधानमन्त्री हुनुहुथ्यो होला अब निर्वाचन नै हारिसकेपछि कसरी सम्भव छ भनेको । त्यसकारण वामदेवजीको मनोविज्ञानलाई ओलीजीले राम्रोसँग बुझन्भएको छ । त्यही अनुसार उहाँले भनिदिनुभयो । अहिले जसरी पार्टीभित्र ओलीजीको विपक्षमा जनमत बढिरहेको छ । त्यसलाई कमजोर पार्नको लागि बामदेवलाई प्रधानमन्त्रीको कार्ड फालेर नचाउन थाल्नुभएको छ । यसभन्दा पहिला बामदेवजीले जति हन्डर, ठक्कर खानुभएको छ । त्यसको आधारमा त जसले जे भन्यो त्यसमा फुर्किएर हिड्नु नहुने हो । त्यसबाट बुझ्नुपर्ने हो । अस्तिको बैठकमा पनि उहाँले आधाआधा सच्याएको जस्तो हँसिलो अनुहारमा पारिरहनुभएको छ । त्यसबाट ओलीजीको तिर ठाउँमै लाग्छ कि जस्तो पनि लाग्छ ।
प्रधानमन्त्री केपी ओलीले वामदेव देखाएर आफ्नो कुर्सीको आयु लम्ब्याउन खोज्नुभएको हो ?
त्यो त निश्चित रुपमै हो नि । केपीजी अहिले समस्या समाधानतिर होइन खाली कसरी हुन्छ आफ्नो कर्सी जोगाउनतिर मात्रै हुनुहुन्छ । अहिले केपी ओलीजीमाथि व्यक्तिवाद, भ्रष्टाचार, गलत धन्दाका कुरा, संविधानविपरीत गतिविधि, पार्टी निर्देशनभन्दा बाहिर गएर काम गरेकोलगायत थुप्रै आलोचना र आरोपहरु लागेका छन् । विभिन्न बहानामा यी चिजहरुलाई टाइम लम्ब्याएर निश्तेज पार्दै जाने । आफूविद्ध उर्लिएका स्वरहरुलाई मधुरो बनाउँदै जाने दाउमा ओलीजी हुनुहुन्छ । अब माधवजी तेस्रो अध्यक्ष बनाउने भन्ने कुरा आएको छ । त्यो तेस्रो अध्यक्षभन्दा त माधवजीलाई अहिलेकै पोजिसन ठीक छ नि । एकतातिर वामदेवजीलाई प्रधानमन्त्री बनाइदिन्छु भन्नुभयो । अर्कोतिर माधवजीलाई तेस्रो अध्यक्ष बनाउछु भन्नुहुन्छ ।
यो खाली विभिन्न बहानामा अलमल्याएर विरोधी स्वर मलिनो बनाउने र आफू फेरि हिरो हुने ओलीजी दाउपेच हो । ओलीजीको यो दाउपेचलाई माधव नेपाल, प्रचण्ड र वामदेवजीले कसरी बुझ्नुहुन्छ । उहाँहरुले यसलाई दाउपेचको रुपमा बुझ्नुहुन्छ कि साच्चिकै समस्या समाधानको रुपमा गर्न खोजेको बुझ्नुहुन्छ त्यो हेर्न बाँकी छ । ओलीजीले चाहीं पार्टीमा देखिएका विवाद, सरकारमा भएका कमीकमजोरीलाई सच्याउन होइन । विभिन्न दाउपेच गरेर आफू सत्तामा टिकिरहेन खेल खेलिरहनुभएको छ ।
केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको गठबन्धनलाई खलबल्याएर राजनीतिक चतु¥याइँत देखाउनुभयो नि ?
हिजो जसरी पार्टी र साथीहरुमा ओलीजीको चर्चा र महत्व थियो त्यो उहाँ आफैले विस्तारै गिराउँदै जानुभएको छ । अहिले त लगभग एक्लिँदै गएको अवस्था छ । सचिवालय बैठकमा कमजोर हुनुभयो । स्थायी कमिटिमा पनि त्यही हालत छ । हुँदाहुँदै अहिले संसदीय दलमा पनि त्यति बलियो हुनुहुन्न । अहिले त गुटगत रुपमा हाम्रो त जेगरेपनि ओलीजी हो भन्ने बाहेकका साथीहरुबाट उहाँ एक्लिइ सक्नुभएको छ । त्यो नहुने हो भने अहिले यत्रो विश्व कोरोना भाइरसको संक्रमणमा परेको छ । नेपाली जनता र पार्टीहरु पनि कोरोनाकै चपेटामा परेका बेला जनतालाई कसरी राहत दिने, संक्रमितको उपचारमा कसरी ध्यान दिने ? स्वास्थ्य सामाग्री कसरी ल्याउने भन्ने बेलामा अध्यादेश ल्याएर अर्का पार्टी फुटाउन कुद्ने । त्यसको माध्यमबाट विवाद सिर्जना गरेर पार्टीभित्र नेताहरुलाई कमजोर बनाउने काम गर्नुभएको छ । यी सबै क्रियाकलपले गर्दा उहाँप्रति जसरी वितृष्णा आएको छ । त्यसले उहाँको छवि र पार्टीको सिद्धान्तलाई समेत ध्वस्त पारेको छ । जसरी पार्टीलाई जोगाउनका लागि साथीहरुले कुरा उठाएका छन् । त्यसलाई बुझेर अगाडि जानुभयो भने उहाँको र पार्टीको पनि भलो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
तपाईंले चिनेको केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहोला तपाईं त सँगै जेल बसेको मान्छे ?
हिजो जेलमा बस्दाको केपी शर्मा ओली र प्रधानमन्त्री भइसकेपछिको केपी शर्मा ओलीको चरित्रनै फरक भइसक्यो । जेल बस्दा, आन्दोलन गर्दा इमान्दार नेताहरु हुनुहुन्थ्यो । जब पावर र पदमा पुग्नुभयो अनि हिजोका दुःख र इमान्दारिताका कुरा बिर्सिनुभयो । अहिले उहाँमा कुनै सिद्धान्त छैन । सत्ता र शक्तिको आडमा बसेर दाउपेच खेल्ने अरुलाई ठीक लगाउने, देश र जनताका बारेमा कुनै चिन्ता र चासो उहाँलाई छैन । दुई तिहाई बहुमतको नेता हुँदा पनि उहाँको छवि दिनप्रति दिन बिग्रिँदै गएको छ । आमजनताको काम केही भएको छैन । अनि ठूला–ठूला टपरटुयाँ कुरा गर्ने । जनचाहना अनुसारका कुनै पनि काम गर्न सक्नुभएको छैन । अहिले आफ्नै पार्टीभित्र जसरी बाँधिनुभएको छ त्यो उहाँकै कारणले हो । उहाँले त अहिलेको अवस्थामा सुधार्ने भनेकै सरक्क दुवै पदबाट राजीनामा दिने अनि पार्टी र सरकारलाई बाहिर बसेर सहयोग गर्ने हो । त्यो गर्नुभयो भने नेकपाको अलिअलि हैसियत रहँला । यदि त्यसो गर्न तयार हुनुभएन भने उहाँले आफ्नो भविष्य पनि सिध्याउनुहुन्छ । पार्टीको भविष्य पनि समाप्त पार्नुहुन्छ । साथसाथै सरकारलाई डुबाउनुहुन्छ । त्यसको लागि ती अरु साथीहरुले पनि यताचिर चिन्ता गर्न बिर्सिएका हुन् कि जस्तो लाग्छ ।
गण्डकी प्रदेश सरकार प्रमुखले त केपी ओलीसँग जनसमर्थन त्यसैले उहाँलाई पाँच वर्षको प्रधानमन्त्री बनाइएको हो भन्नुभयो नि ?
उहाँका पक्षधरहरु जस्तो पृथ्वी सुब्बा गुरुङहरु जस्ता नेकपा भनेकै केपी ओली हो भनेर मान्नेहरुकै भर परेर ओलीजी डुब्नुभएको हो । यिनीहरुले उचालेर होइन कि यस्ता अन्धभक्त समर्थकहरुकै कारण ओलीजी डुब्नुभएको छ । त्यसकारण नेकपा ओलीले जन्माएको होइन । नेकपाले ओलीजीलाई जन्माएको हो भन्ने बिर्सिनुभएन । तर अहिले ओलीजी मैले सरकार बचाउनुपर्छ, पार्टी बचाउनुपर्छ, कार्यकर्ता र जनताको पक्षमा काम गर्नुपर्छ भन्नेमा हुँदैहुनुहुन्न । कुनै पनि दाउपेच गरेर अरुलाई झुक्याएर, छक्याएर आफू सत्तामा टिकिरहने काम बाहेक उहाँबाट केही भएको छैन ।
उहाँले त नेकपाको नाममा होइन मेरो नाममा बहुमत आएको हो भन्नुभएको छ नि ?
अहिले उहाँलाई म चाहीं पार्टीभन्दा पनि माथि हो । मेरो प्रभावले मात्रै नेकपा बनेको हो भन्ने उहाँको भ्रम छ । यो भ्रमले नै उहाँलाई सिध्याइराखेको छ । पार्टीको अध्यक्ष उहाँ हो । अध्यक्ष भएका नाताले भूमिका होला भूमिकै नभएको त म भन्दिँन । उहाँले नै पार्टी जन्माएको हो भन्ने कुरा होइन । उहाँलाई मात्रै देशभरीका जनताले समर्थन गरेका छन् भने पार्टी किन चाहियो त ? म नै सबैथोक हो म बाहेक अरु कसैको केही भूमिका छैन भनेर हिजो राजतन्त्रको बेलामा राजाले गरेको भन्दा चर्को गर्न खोज्नुभएको छ । र, अहिले जसरी पार्टीमा विवाद देखिएको छ । त्यसमा पनि उहाँकै समस्या हो । उहाँले दुई तिहाई मत आएको पनि मेरै कारणले भन्ने भ्रम पालिरहनुभएको छ । यो नै उहाँको गैरमाक्सवादी सोच र चिन्तन हो ।
अहिलेको गाँठो फुकाउने निकास के त ?
उहाँले निकास दिनुहोला । यदि दिन तयार हुनुभएन भने उहाँको पार्टी र सरकार संकटमा जान्छ । त्यो संकटले देशलाई कहाँ पु¥याउँछ भन्ने जटिल कुरा हो । त्यसैले त्यो संकट निम्त्याउनेतिर उहाँ नलाग्नुपर्ने हो । लाग्नुभयो भने भिरबाट लड्ने गोरुलाई ‘राम राम’ भन्नेबाहेक काँध हाल्न सकिँदैन । उहाँ निकास दिन तयार हुनुभएन उहाँ त सकिनुभयो, नेकपालाई नै धरासायी बनाउनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्