काठमाडौँ, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सत्तासंकट गहिरिँदै जाँदा उत्तरको छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो सक्रियता बढाएको छ । चिनियाँ राजदूत हाउ याङ्क्षीले सत्तारुढ दलका शीर्ष नेताहरुसँग भेटघाट बाक्लो पारेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । विगतमा दक्षिणको छिमेकी मुलुक भारतका राजदूतबाट यस्तो खालको भूमिका निर्वाह हुने गरेकोमा अहिले चीनका राजदूतले सक्रियता देखाएपछि नेपालमा चीनको प्रभाव बलियो हुँदै गएको विश्लेषण हुन थालेको छ ।
विश्लेषक लोकराज बरालले कम्युनिष्ट शासन आएपछि नेपालमा चीनले सक्रियता बढाउँदै लगेको बताए । चिनियाँ राजदूतको नेकपाका नेताहरुसँग तारन्तार भेटलाई पनि सोही अर्थमा बुझ्न सकिने बरालको टिप्पणी छ ।
नेपालको वर्तमान राजनीति र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी थिइन् । प्रचण्डसँगको भेटलगत्तै राजदूत याङक्षी वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेकी थिइन्। चिनियाँ राजदूतको यो दौडधुपलाई शिष्टाचार भेट भनिए पनि रहस्यमय छैन भन्न नसकिने विश्लेषक सुरेन्द्र केसीको बुझाई छ ।
राजनीतिक परिघटनालाई लिएर विगतमा भारतीय राजदूतको दौडधुप हुने गरेको नेपालमा अहिले चिनियाँ राजदूतको दौडधुप बढेको छ । नेपालमा सत्ताधारी पार्टीभित्र राजनीतिक संकट गहिरिँदै जाँदा व्यक्त चिनियाँ चासोलाई नेपालमा उसले आफ्नो प्रभाव बढाउन चाहेको रुपमा अर्थ लगाउनेहरु धेरै छन् । विश्लेषक पुरन्जन आचार्य नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण गराउन नै चीनको विशेष भूमिका रहेको र अहिले त्यो प्रत्यक्ष देखिन थालेको टिप्पणी गरे । चिनियाँ सुझाव चिन्ता र चासोलाई कम्युनिष्ट पार्टीहरुबीचको निकटताका रुपमा बुझ्न मिल्ने उनको भनाई छ ।
प्रचण्ड र माधव नेपालसँगको भेटअघि राजदूत याङछीले राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन् । यसअघि करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरेका थिए । त्यसलगत्तै राजदूतले याङ्क्षीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको भए पनि यसबारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी दिएको छैन ।-रेडियो एनआरएनबाट