Logo

नेकपा सचिवालय बैठकले ओली सत्तामा रहने कि हट्ने टुंगो लगाउने



काठमाडौं, २० वैशाख । हिजो दिनभर र रातिसम्म नेपाल कम्युनिस्ट पार्टीभित्र र बाहिर राजनीतिक सक्रियता निकै बढ्यो । नेताहरुको आपसी भेटघाट र संवादमात्र भएन चिनियाँ राजदूत होउ यान्छी पनि भेटघाट तिव्र पारिन् । सबै भेट नेकपा विवादसँग सम्बन्धित रहेको खुलिसकेको छ ।

१७ वैशाखको सचिवालय बैठक विना निष्कर्षमा टुंगिएपछि तीन दिनसम्म नेकपाभित्र घनीभूत भेट र संवाद भएका छन् । यसले विवादको छिनोफानो आज लगाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । तर, उनी राजीनामा दिन तयार छैनन् । बरु छाड्नैपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने निर्णयमा पुगेका छन् । यसले उक्त पार्टीभित्र तरंग आएको छ । नेताहरुले विभिन्न अस्त्र छाडिरहँदा दुर्घटनाको खतरा समेत औल्याइएको छ ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा आजको सचिवालय बैठकमा नेताहरु ठूलो तयारीमा पुग्ने बुझिएको छ । सबैको आ आफ्नै प्रस्ताव आउन सक्छन् । सहमतिको बिन्दु पनि खोजिनसक्ने बुझिएको छ ।

आजको बैठकमा उपाध्यक्ष बामदेव गौतम निर्णायक सावित हुनेछन् । उनले लिने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहने वा हट्ने टुंगो लाग्न सक्छ । त्यसैले गौतमलाई फकाउन भैंसेपार्टीमा सबै पक्षका नेता तथा विश्वासपात्रहरु पुगे । पासा कता पल्टियो आजको बैठकबाट जानकारी हुनसक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्