न्यूयोर्क, बैशाख २० । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ।
यसको अर्थ कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ।
तर, एफडीएको आपत्कालीन अनुमति भएकोले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक पर्छ।
विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको बताएका छन्।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले शुरूदेखि नै कोरोनाभाइरस सङ्क्रमण उपचारमा रेम्डेसिभिरको समर्थन गर्दै आएका छन्।यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले त्यो औषधि प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरेको छ।
ृउक्त औषधीले मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको बताइएको छ।