काठमाडौं, २० वैशाख । डेढ घन्टा पछि धकेलिएको नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकमा चर्काचर्की हुने गरी नेताहरुले तयारी गरिसकेका छन् । साँझ छ बजेभन्दा केही अगाडिका लागि डाकिएको बैठकले आज केही न केही निर्णय भने पक्कै गर्नेछ ।
पार्टीभित्र बढेको अन्र्तविरोधले प्रधानमन्त्री समे रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भने गलाएको छ । उनले पावर शेयरिङ गर्नुपर्ने भएको छ । त्यतिमात्र नभई मिति नै तोकेर बामदेव गौतमलाई सत्ता हस्तान्तरण गर्नुपर्ने भएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य सिट खाली गराएर चुनाव गर्नुपर्ने र बामदेवलाई जिताएर राजीनामा दिई प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने सम्मको पक्कापक्की गर्नुपर्ने भएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले आफ्ना विश्वासपात्रहरुलाई पठाएर रातारात बामदेवलाई मनाएका छन् ।
बामदेवलाई प्रधानमन्त्री बनाउने गरी प्रतिनिधिसभा सिट खाली गराई चुनाव गराउने र प्रधानमन्त्री बनाउन सकिने खुलासा ओलीका विश्वासपात्र स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले विहानै ऋषि धमलासँगको कुराकानीमा गरिसकेका थिए । उनले योजनासहित त्यसै सुनाएनन् । रातभर भैंसेपार्टीमा गोप्य कुराकानी भएको थियो । नेकपा महासचिव विष्णु पौडेलको घर बामदेवको सँगै हुनुले पनि काम गर्यो । पौडेलले नै ग्यारेन्टी लिएर गौतमलाई मनाएको स्रोतले जानकारी दिएको छ ।
बामदेवको पूर्ण समर्थन आएपछि आज बस्ने बैठकमा उनैले बोलेर ओलीको बचाऊ गर्ने भएका छन् । १७ वैशाखमा पहेंलो सर्टमा बालुवाटार पुगेर हात बाँधेर बसेका बामदेव आज हात फुकाएर बोल्ने भएका छन् । उनले ओलीलाई फेरि एकपटक सत्ताबाट हट्नबाट जोगाइदिने भएका छन् । यसपटक कुनै धोकाधडी नहुने शर्तमा गौतमले जेन्टलम्यान सम्झौता गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
बामदेवको साथपछि अब ओलीलाई अध्यक्ष र प्रधानमन्त्री तत्काल छाड्नुनपर्ने भएको छ । माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष पनि दिनुनपर्ने भएको छ । अब उनले बामदेवले भनेकालाई मुख्यमन्त्री बनाउने सम्म हुनसक्छ । विशेषगरी गण्डकी प्रदेश र बागमती प्रदेशमा बामदेवको चासो रहेको छ । मन्त्रीहरुमा पनि बामदेवले भनेका केहीले मौका पाउने अवस्था बनेको बुझिएको छ ।
ओली र बामदेव एकै ठाउँमा आएपछि अब प्रचण्ड र माधवकुमार नेपालमाथि दबाब बढ्ने देखिएको छ । ओलीले त्यसै पनि द्वन्द्वकालिन मुद्दा उठाउने, क्यानटनमेन्टमा भएको भनिएको अनियमितताका विषय उठाउने देखि ललिता निवास प्रकरणमा पार्टीभित्र र बाहिरका विरोधीलाई ठेगान लगाउने रणनीति बनाइसकेका छन् । ओलीको अबको अस्त्रले नेपाली राजनीतिमा ठूलै तरंग ल्याउने सम्भावना बलियो बनाएको छ ।