काठमाडौं, २२ बैशाख । शनिबारको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नाटकीय सहमति भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद साम्य भएको र प्रधानमन्त्री ओलीको राजीनामा पनि केही समय टरेको अड्कलबाजी भएको छ । यसको साथै, बरिष्ठ नेता माधव कुमार नेपाललाई ओली दाहाल मिलेर फेरि कर्नरमा पुर्याईएको पनि चर्चा चलेको छ ।
नेता नेपालको साथ लिएर दाहालले ओलीको राजीनामा मागेको र अन्तिममा आएर लेनदेनमा सहमति गरेको आरोप लागेको छ । सचिवालय सम्पन्न भएलगत्तै नेता नेपालले दुई अध्यक्षको चोचोमोचो सहिन्न भन्ने अभिव्यक्ति दिएसँगै नेता नेपाल सचिवालयको निर्णयप्रति अझै असन्तुष्ट रहेको बुझ्न सकिन्छ । भोलिपल्ट अर्थात हिजो आइतबार नेता नेपालले आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँग कोटेश्वरस्थित् आफ्नो निवासमा सचिवालय बैठकबारे ब्रिफिङ गरेका थिए ।
शनिबारको सचिवालय बैठक चार बजे डाकिएको थियो । तर, बैठक साँझ साँढे ५ बजेमात्रै सुरु भएको थियो । त्यो बीचमा ओलीले दाहालसँग छुट्टै ४० मिनेट एक्लाएक्लै भेटवार्ता गरेको र सहमतिका साथ अघि बढ्ने सहमति गरेको पनि कुरा आएको छ । यसमा कत्तिको सत्यता छ ? भन्ने कुरा विस्तारै खुल्दै जाला । तर, दुई अध्यक्षबीच केही न केही भद्र सहमति भएकै कारण त्यसपछि बसेको बैठकमा उनीहरुको प्रस्तुती नाटकीय रुपमा बुधबारको तुलनामा एक सय असी डिग्री विपरित थियो । जबकी बुधबारको सचिवालय बैठकमा दाहालले ओलीको राजीनामा मागेका थिए । दाहाललगत्तै बोलेका बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालले पनि राजीनामा दिनुपर्नै अडान लिएका थिए ।
तर, शनिबारको बैठककमा सुरुवातमै ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको भन्दै यो बीचमा आफूबाट भएका कमिकमजोरीका बारेमा आत्माआलोचनासमेत गर्न भ्याए । आलीलगत्तै बोलेका कार्यकारी अध्यक्ष दाहालले समेत आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि मिडियाकर्मीलाई जानकारी गराएका थिए । एकाएक विवाद साम्य हुनेगरि अध्यक्षद्धय ओली र दाहालबीच सहमति हुनुलाई नेता नेपाल पक्षधर नेताहरुले शंकाको दृष्टिले हेरेका छन् । तर, नेता नेपालले हिजोमात्रै आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँगको भेटवार्तालगत्तै अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । र, दाहालले पार्टीमा एक व्यक्ति, एक पद लागु गर्न ओली सहमत भएको कुरा सुनाएका थिए । दाहालको भनाईलाई लिएर नेता नेपालले आफूलाई धोका नदिएको कुरा आफू पक्षधर नेताहरुलाई पूनः ब्रिफ गराएका छन् । नेकपाको स्थायी कमिटी बैठक यही बैशाख २५ गते विहान ११ बजे बस्दैछ । बैठकको एजेण्डा तय गर्न सचिवालयको बैठक बैशाख २४ गते बस्ने निधो गरिएको छ ।
स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा नमागिने महासचिव विष्णु प्रसाद पौडेलले जनाएका छन् । पत्रकार ऋषि धमलालाई प्राइम टाईम्स टेलिभिजनको लागि दिएको अन्तर्वार्तामा पौडेलले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषय नै नउठ्ने दाबी गरिसकेका छन् । बरु, सरकारका कामकारबाहीबारे आलोचना हुनेसक्ने उनको तर्क छ ।