Logo

बामदेव गौतम यही प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्ने सम्भावना छैन-डा. बेदुराम भुषाल



काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. वेदुराम भुषाल बौद्धिक नेताको परिचय बनाउन सफल छन् । उनले पार्टीलाई एक बनाएर पद्धति र प्रणालीबमोजिम अगाडि बढाउनुपर्नेमा जोड दिने गरेका छन् । उनीसँग नेकपाको आन्तरिक विवादपछि उत्पन्न परिस्थितिबारे ऋषि धमलाले गरेको कुराकानीः
स्थायी समितिमा माधव नेपालको असन्तुष्टि ह्वात्तै बढ्यो नि ?
त्यो त माधव नेपाललाई नै सोध्नुपर्छ ।
प्रचण्डबाट धोका भयो भन्ने कुरा आयो नि ?
मलाई त प्रचण्डबाट धोका भयो भन्ने कुरा थाहा छैन ।
अस्तिको समझदारीलाई लिएर माधव नेपालले के भन्नुभयो ?
माधवकुमार नेपालले प्रचण्डबाट धोका भयो भन्नुभएको छैन ।
के भन्नुभएको छ त ?
तपाईले भनेको कुरा चाहीं भन्नुभएको छैन । अरु धेरै कुराहरु भन्नुभएको छ ।
होइन तपाईंहरुको छलफलमा के भन्नुभयो ?
छलफलमा भएका सबै कुरा तपाईंलाई बताएर साध्य हुँदैन । म भन्न पनि सक्दिँन । यति हो, तपाईंले सोधेको कुरा उहाँले भन्नुभएको छैन ।
दुई अध्यक्षहरुको चोचोमोचो मिलेपछि प्रचण्डले माधवकुमार नेपाललाई धोका दिएको होइन ?
होइन । तपाईंसँग अस्ति मात्रै मैले भनेका कुरा लागु भएका छन् । हामीले पनि केही भनेका छैनौं, माधवकुमार नेपालले पनि केही भन्नुभएको छैन । त्यस्तो निष्कर्ष कुनै निस्किएको छैन ।
नेकपामा एक व्यक्ति एक जिम्मेवारीमा समझदारी बनेको हो ?
त्यो त अब स्थायी कमिटि बैठकमा गएपछि मात्रै थाहा हुन्छ ।
तपाईंले त पार्टीले चाह्यो भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुईबाट केपी ओलीलाई हटाउन सक्छ भन्नुभएको थियो नि ?
पार्टीले चाह्यो भने हटाउन सक्छ, राख्न पनि सक्छ ।
फेरि पनि कुरा त मिलेन नि ?
मैंले तपाईंलाई पहिला पनि भनेको थिएँ, ‘पार्टी फुट्दैन, छलफल गरेर निष्कर्षमा पुगिन्छ’ भनेर ।
तपाईंहरुले हिजो माधवकुमार नेपाल समूहमा बसेर के के गर्नुभयो ?
अब हामी बैठकमा कसरी जान्छौं भनेर छलफल गर्यौं ।
अब बैठक कसरी अगाडि बढाउँदै हुनुहुन्छ त ?
बैठकमा विगतका समीक्षा गर्छौं । अब कसरी जाने भन्ने निष्कर्ष निकालेर अगाडि बढ्छौं ।
बामदेव गौतमलाई प्रतिनिधिसभाको सांसद् बनाउँदै हुनुहुन्छ होइन तपाईंहरु ?
त्यो त अब आगामी निर्वाचनमा ।
अहिले तत्काल उपनिर्वाचन हुँदैन ?
त्यो त सम्भवै छैन नि अहिले कोरोनासँग लड्ने कि उपनिर्वाचनमा जाने । त्यस्तो मूर्खतापूर्ण काम पनि गर्नुहुन्छ र ?
त्यसोभए साँढे दुई वर्षपछिको निर्वाचनबाट मात्रै वामदेव गौतम प्रतिनिधिसभाको सांसद बन्न सक्नुहुन्छ हो ?
त्यही हो । त्यो दायाँबायाँ जाने सम्भावना छैन ।
त्यसोभए अहिले कुनै सम्भावना छैन ?
कसरी सम्भावना हुन्छ । देशमा यत्रो महामारी छ । यस्तो बेलामा एकजना व्यक्तिलाई खोज्दै हिड्छ पार्टी ।
अनि किन उचित समयमा वामदेव गौतमलाई सांसद् बनाउने भनेर लेखेको त ?
उचित समय भनेको नै आगामी महानिर्वाचन हो ।
त्यसपछि वामदेव गौतम प्रतिनिधिसभाको सांसद बन्नुहुन्छ ?
त्यसमा पनि चुनाव जित्नुभयो भने बन्नुहुन्छ ।
चुनाव जित्नुभएन भने बन्नुहुन्न हो ?
त्यो सामान्य व्यक्तिले पनि बुझ्ने कुरा हो नि ।
पर्सीको बैठकमा के के होला ?
पर्सीको बैठकमा पार्टीको र सरकारको कामकोे समीक्षा हुन्छ । त्यसपछि आगामी दिनमा पार्टी र सरकारको कामलाई कसरी अगाडि बढाउने भन्ने कुराको निष्कर्ष निकालिन्छ । त्यो निष्कर्षअनुसार आवश्यकता पर्यो भने नेताहरुको कार्यविभाजन गरिन्छ ।
त्यसोभए स्थायी समिति बैठकमा सरकारका कामको पनि समीक्षा हुन्छ हो ?
हुन्छ किन हुँदैन ? अस्तिको सचिवालय बैठकमा त कुरा भएको छ । स्थायी समितिका विगतमा भएका सरकारका कामको समीक्षा गर्ने भनेर निर्णय नै भएको छ । बिगतमा के भए, अब कसरी अगाडि जाने भन्ने कुरा उठिहाल्छ नि ।
विगतको कामको समीक्षा हुँदा एक व्यक्ति एक पदको अवधारणा पनि आउन सक्छ हो ?
एक व्यक्ति एकपदको अवधारणा भनेको पार्टी एकता भएपछि विधान बनाउँदा हामीले सहमति गर्यौं । कार्यान्वयन गर्ने बेलामा त्यो सहमति अनुसार भएन । अब हामीले त्यसलाई कार्यान्वयन गर्ने बाटोमा जानुपर्छ । त्योभन्दा अर्को विकल्पै छैन । किन भने त्यो निरन्तर उठिरहेको विषय उठ्छ ।
एक व्यक्ति एक पद हुनुपर्छ भनेर तपाईंले नै भन्नुभएको होइन ?
अहिले पनि त भनिरहेको छु नि ।
त्यसबाट तपाईंहरु ब्याक हुनुहुन्न ?
त्यो त विधानको विषय हो नि । विधानमा भएका कुरा पालना गर्नुपर्छ भन्ने कुरामा पनि कसरी ब्याक हुन्छ ।
विष्णु पौडेलले त कुनै पनि हालतमा तलमाथि हुँदैन भन्नुभएको छ नि ?
त्यो त उहाँको कुरा हो । उहाँले पहिला पनि त्यही भन्नुभएको थियो । विधान बिपरीतका कार्य गर्न प्रस्ताव बनाउने मान्छे नै उहाँ हो । अब आफ्नो प्रस्ताव, कामको प्रतिप्रश्न उहाँले गर्नुहोला नि । त्यहाँ भन्नुहोला ।
विष्णु पौडेलको मतमा तपाईंको असहमति हो ?
त्यो त विधान बिपरीत छ त अनि म कसरी सहमत हुन्छ । किन विधानका कुरामा नाम सच्चियो ।
उसोभए तपाईंहरुको माग सम्वोधन भयो होइन ?
हामीले बैठकको माग गरेका थियौं, बोलाइयो त्यो अर्थमा सम्बोधन भयो । बैठकमा उठाउने विषय त छँदैछन् उठ्छन् ।



प्रतिक्रिया दिनुहोस्