काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण टेलिफोन वार्ता गरिन् । वार्तामा कोरोना भाइरसको रोकथामका लागि आपसी सहयोगका लागि कुराकानी भएको भनी परराष्ट्रमन्त्रीले विज्ञप्ति नै जारी गर्यो ।
विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेको उल्लेख छ । यो आफैमा महत्वपूर्ण सन्देश थियो ।
विवाद चलिरहँदा नेकपा वरिष्ठ नेताले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भिडियो कन्फरेन्समा कुराकानी गरेका थिए । साँढे तीन घन्टा लामो कुराकानीमा नेकपाका प्रदेश इञ्चार्ज समेत सहभागी भएको जनाइएको छ ।
१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागियो । नेताहरुले फरक फरक तुरुप फाले । बैठक टुंगोमा नपुगेपछि २० वैशाखका लागि पुनः डाकियो । त्यो तीन दिनमा राजनीतिक सक्रियता बढाउनेमा नेकपा नेताहरु मात्र थिएनन् चिनियाँ राजदूत होउ यान्छी पनि थिइन् ।
यान्छीले १८ वैशाखको राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन् । लकडाउन चलिरहँदा उनको भेटहरु भए । १९ वेशाखको विहान यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा र वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटिन् । २० वैशाखमा नेकपा सचिवालयले ओलीको सत्ता टिक्ने या नटिक्नेबारे निर्णय गर्नेवाला थियो । राजदुत यान्छीको ठिक त्यसअघिको सक्रियता अर्थपूर्ण बन्यो ।
२० वैशाखमा नेकपा सचिवालय बैठक अघि नै विवादमा आमने सामने भएका दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति बनिसकेको थियो । उपाध्यक्ष बामदेव गौतमको बारेमा पनि निर्णय गर्ने तयारीबारे खुलासा भइसकेको थियो ।
नेकपा सचिवालय बस्नुअघि चिनियाँ राजदूत यान्छीको सक्रियताले विवाद मिलाउन चिनियाँ भूमिका रहेको टिप्पणीहरु भएका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा विवाद मिलाउनमा चिनियाँ भुमिकाबारे उल्लेख गरेका छन् । रेडियो एनआरएनसँगको कुराकानीमा दुई कम्युनिस्ट पार्टी मिलाउन चीनले भुमिका निभाएको बताएका हुन् । उनको तर्कलाई आधार मान्ने हो भने अहिलेको विवाद मिलाउन पनि चीनले प्रत्यक्ष भुमिका खेलेको देखिन्छ ।
अहिले नेकपा विवाद मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संकट टरेको छ । मिलेर जाने सहमति पनि भएको छ । तर, पहिलोपटक नेपालको राजनीतिमा चिनियाँ सक्रियता पर्दाबाहिरै देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको निकट सम्बन्ध र गत वर्ष भएको संयुक्त प्रशिक्षणसँगै नेपालको राजनीतिमा मात्र नभई सत्तारुढ दलमा पनि चिनियाँ प्रभाव देखिएको छ ।-File Photo