Logo

जनता समाजवादी पार्टीको एकता प्रक्रिया कहाँ पुग्यो ?



वैशाख २२, काठमाण्डौ । वैशाख १० गते राति एकता गर्ने सहमति गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी अहिले प्रक्रिया मिलाउन व्यस्त छन् । सरकारले जसरी हतारमा अध्यादेश ल्यायो त्यसैगरी हतारमा एकता गर्ने सहमति गरे पनि प्रक्रिया पूरा गर्न त्यति सहज छैन । पटक पटक एकताको प्रयास गरे पनि सफल हुन नसकेका दुइ दल अब कसरी अगाडि बढ्लान त ? भन्ने चासो बढेको छ ।

गत वैशाख १० गते राति एकता गर्ने सहमति गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले ११ गते निर्वाचन आयोगमा सहमति पत्र बुझाएका थिए । दुई पार्टी एकता भएपछि नाम ’जनता समाजवादी’ राख्ने सहमति भएको थियो भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता स्वीकार गरिएको छ ।

तर नेतृत्वदेखि सिद्धान्तसम्मका महत्वपूर्ण विषयहरु टुङ्गिन सकेको छैन । सहमति पत्रमा हस्ताक्षर गरेका राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले नयाँ पार्टीको विधान, नियमावली र संरचनाबारे गृहकार्य भइरहेको जानकारी दिएका छन् । लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच एकताको सहमति हुँदा पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ ।

त्यसैगरी समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रो बरियतामा राखिएको छ । तर एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले हतारमा एकताको सहमति गरेका थिए । उक्त सहमतिलाई मूर्त रुपन दिन सफल हुने दुवै दलका नेताहरुले बताउँदै आएका छन् । अब कुनै पनि हालतमा एकता प्रक्रिया टुङ्गो लाग्ने संयोजक भण्डारी बताउँछन् ।

पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् । राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन् । पदाधिकारी र केन्द्रिय समिति व्यवस्थापन गर्न दुवै दललाई ठूलै चुनौति छ । अनेकौँ चुनौति पार गरेर एकता प्रक्रिया कहिले टुङ्ग्याउँछन् त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्