Logo

केपी ओलीको सोचमा नै ठूलो संकट देखियो, त्यही भएर राजीनामा माग्यौं : शाक्य (भिडियोसहित)



काठमाडौं, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अहिले पार्टीभित्रको आन्तरिक द्धन्द्ध बढ्नु दुःखद् भएको गुनासो पोखेकी छिन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सोचमा नै ठूलो संकट देखिएकोले आफूहरुले राजीनामा माग गरेको स्मरण गराईन् । लोकतन्त्र, गणतन्त्र, संविधानसँग अध्यादेश जोडिएको र अध्यादेश लागु भएको भए राजनीतिक अस्थिरता पैदा भैसक्दथ्यो भन्ने उनको भनाई थियो । उनले अहिले सबै राजनीतिक दलहरु, एक ठाउँमा बसेर ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुपर्ने बेला भएको पनि बताईन् । उनले भने-“अहिले देश बनाउने बेला हो । विकास गर्नैपर्छ ।”

उनले थपिन्,”केपी ओलीको सोचमा नै संकट देखियो । प्रधानमन्त्रीजस्तो मान्छे, यस्तो लोकतन्त्रविरोधी सोच कहाँबाट आयो ? गणतन्त्रविरोधी सोच कहाँबाट आयो ? त्यसैले अब उहाँ लोकतन्त्र, गणतन्त्रको नेता बन्न सक्नुहुन्न । आम देश र जनताको लागि काम गर्नुपर्ने बेलामा, यस्तो खालको संकट निम्त्याएर उहाँको गलत कुराबारे बोल्नुपर्ने अवस्थाको सिर्जना पनि उहाँले नै गर्नुभएको हो नि त । पार्टीमा पनि लामो समय भयो, बैठक बसकेको छैन् । विधि र प्रक्रियामा पार्टी छिरेको छैन् ।”



प्रतिक्रिया दिनुहोस्