सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले आफूहरुले भोलिबाट सुरु हुने स्थायी कमिटीको बैठकमा आफ्ना कुराहरु जोडदारसँग राख्ने बताएका छन् । र, विधानअनुसार एक व्यक्ति, एक पदमा जानुपर्ने आवाज पनि उठाउने उनले जनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ज्ञवालीसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश:
अब स्थायी समिति बैठकमा एक भएर जाने माहोल पार्टीमा बन्न सक्छ ?
एकदताबद्ध हुनुको कुनै विकल्पै छैन । एकताबद्ध भएर जानुपर्छ । बैठकमा आफूलाई लागेका कुरा सबैले खुलस्त भन्नुपर्छ । बाहिर बोल्दा अलि कड्कलेरै बोल्नुपर्छ । त्यहाँ बोल्दा सबैले निसंकोच खुलेर बोल्नुपर्छ । त्यहाँ कुनै झगडा गर्न जाने होइन, आफ्ना विचारहरु राख्न जाने हो । छलफल गर्ने हो, त्यसबाट सरकार अझ राम्रोसँग अगाडि बढोस् । आगामी दिनमा पार्टी पनि अझ व्यवस्थित ढंगले अगाडि बढोस् । अहिलेसम्म सरकारले गरका कामको पनि समीक्षा हुनुपर्छ । त्यसमा गल्ती कमजोरी भएकाको सच्चिएर जानुपर्छ । राम्रा कामको पनि खोजी गर्नुपर्छ । कमजोरी भएकोमा आलोचना, राम्राको प्रसंसा र गल्तीकमजोरी गर्नेले आत्मालोचना पनि गर्नुपर्छ । पार्टी एकता भएर ऐतिहासिक काम भएको छ । त्यसलाई सञ्चालनमा ध्यान दिनुपर्छ । त्यहीं एकताकै कारणले चुनावमा झन्डै दुईतिहाई मत आएको छ । यसलाई आगामी दिनमा जोगाउने गरी जानुपर्छ । पार्टीलाई लोकतान्त्रिक, अनुसाति ढंगले कसरी चलाउने भनेर व्यापक घनिभूत ढंगले छलफल गरेर एउटा उपयुक्त निष्कर्ष निकाल्छौं ।
तपाईंहरुलाई त प्रधानमन्त्रीले बेमौसमको बाजा बजाएको आरोप लगाउनुभएको छ नि ?
हामीले बेमौसको बाजा बजाएको होइन । सचिवालयमा बसेका मान्छेहरुले बजाएका हुन् कि होइनन् त्यो कुरा केपी कमरेडलाई थाहा छ नि ? प्रधानमन्त्रीले यसलाई जसरी बेमौसको बाजा भन्नुभएको छ । त्यसमा प्रधानमन्त्रीको राजीनामा त सचिवालयका सम्मानित सदस्यहरु जो कहिले यता कहिले उता, केही के, कहिले बेल पाक्यो, कहिले के भयो भनेर यता र उता के कारण र आधारमा गर्नुहुन्छ ? जब कि उहाँहरुको घनिभूत ढंगले घन्टौघन्टा वार्ता भइरहन्छ । त्यही आधारमा उहाँहरु कहिले प्रधानमन्त्री हटाउने भन्नुहुन्छ । कहिले प्रधानमन्त्रीलाई छुनै हुँदैन भन्नुहुन्छ । यसरी विवाद निम्त्याउने काम सचिवालय सदस्य आदरणीय कमरेडहरुले नै गरिरहनुभएको छ । उहाँहरुमा कुनै दिन प्रष्ट विचार, दृष्टिकोण, आधार केही छैन । आज यो भन्नुहुन्छ, भोलि अर्कै भन्नुहुन्छ । हामीले कसैलाई केही भनेका छैनौं । हामी त प्रस्ट रुपमा आफ्ना कुरा खुलेर बैठकमा राख्छौं । यो अधिकार हो, यसलाई कसैले कटौती गर्त सक्दैन । पार्टी भनेको कमिटि हो । त्यसमा बोल्दा कसैले मुख थन्न पाउँदैन । यो सबैले बुझ्नुपर्छ, हामी प्रष्ट छौं ।
बैठकमा तपाईंहरु प्रधानमन्त्रीको राजीनामा माग्नुहुन्छ ?
एकीकरणपछि निर्वाचन आयोगमा पार्टी गर्दा नै विधानमा ‘एक व्यक्ति एक पद’ भनेर स्पष्ट रुपमा लेखिएको छ । त्यो अनुसारको पार्टी चलेन किन भने नियमित बैठक भएन । तीन महिनामा स्थायी समिति बैठक बस्ने भनेको एक महिनापछि मात्रै बस्यो । त्यो पनि धेरै ठूलो दवाव र प्रयासपछि मात्रै । अहिले पनि देशमा महामारीको समस्या भएको ४ महिना भइसक्यो अहिलेसम्म बैठक बस्ने सुरसारै छैन । बीचमा स्थायी कमिटिको बैठक बस्दैनबस्ने खाली माथि सचिवालय मात्रै बस्ने । केही नेताहरुले निर्णय गर्ने अनि त्यहीअनुसार आदेश, निर्देश, फरमान जारी गर्ने । यो खालको प्रवृत्ति देखियो । अहिले पनि हामीले बैठक राख्नको लागि धेरै ठूलो प्रयास गर्नुप¥यो । बीस जना स्थायी कमिटिका सदस्यले माग गरेपछि मात्रै बस्ने स्थिति भयो । बैठक बस्न नसक्ने, हाम्रा कुरा, असन्तुष्टी सुन्न नसक्ने अवस्था अवस्था भएको छ भने स्थिति कहाँ पुगेको छ ? तसर्थ यो अनुसारले सञ्चालन गरेर पार्टी चल्दैन । पार्टीभित्र आफ्ना कुरा खुलस्थ भए बाहिर हुँदैनन् । त्यो नुहँदा बाहिर पनि आउन सक्छन् । त्यसकारण नेताहरुले त्यस्ता कुरामा ध्यान दिनुपर्छ नत्र विचार, दृष्टिकोण, विषयहरु बारम्बार उठिरहन्छन् । त्यसमा ध्यान नदिए विस्फोटमा जान सक्छ ।
महासचिव विष्णु पौडेलले केपी ओलीको कष्टमा एक व्यक्ति, एक पद लागु हुँदैन भन्नुभयो नि ?
यसमा म दृढतापूर्वक भन्न चाहन्छु, ‘यो कुरा विधानमा पनि उल्लेख छ । मैले बारम्बार भन्दै आएको कुरा हो ।’ म फेरि भन्छु, उहाँहरुले बैठकनै राख्न नचाहेको हो । कुनै साथीहरुले भन्नुभएको छ, ‘स्थायी कमिटिको बैठक आवश्यक छैन’ भनेर सार्वजनिक रुपमै ती साथीहरुलाई म भन्न चाहन्छु, ‘बैठक त बस्नुपर्ने हो नि ।’ बैठक बस्यो भने के हुन्छ ? त्यहाँ हरेक कुरा उठ्छ ।
यो कुरा कार्यान्वयन हुन्छ त ?
यस विषयलाई हामी दृढतापूर्वक उठाउँछौं । र त्यो कुरालाई पारित गर्छौ ।
बैठकको निर्णयमा के हुन्छ ?
एक व्यक्तिको एउटा पद हो, त्यसलाई हामी निर्णय गर्छौ । लाखौ कार्यकर्ताहरु जो हिजो सडकमा लडेको छ । त्यसलाई व्यवास्ता गरेर जसरी चल्दैचल्दैन सामूहिक र संस्थागत रुपमा जाऔं । पार्टीको विधानमा के लेखिएको छ त्यसलाई विधिसम्मबत ढंगले अक्षेरसः पालना गरौं । के यसो भन्नु पार्टी विरोध कुरा हो ?
सरकारविरोधी कुरा गरेर प्रधानमन्त्रीलाई असहयोग गरिरहनुभएको छ नि ?
कम्युनिस्ट पार्टीमा, पार्टीले सरकार चलाउनुपर्छ । यो पार्टी विरोधी कुरा हो ? अनि पार्टीको हितमा बोल्दा कसरी सरकार विरोधी भइयो ? सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउनुपर्छ । यो कुरा हरेक नेता र कार्यकर्ताले बुझ्ने कुरा हो ।
स्थायी समिति बैठकमा एक व्यक्ति एक पद कार्यान्वयन गराइन्छ ?
गराइन्छ, गर्नैपर्छ ।
यदि प्रधानमन्त्रीले मान्नुभएन भने के हुन्छ ?
जबसम्म हुँदैन, निरन्तर यी आवाजहरु उठिरहनेछन् ।
तर स्थायी समिति बैठकमा कसैले पनि प्रधानमन्त्रीको राजीनामा माग्दैनन् भन्नेहरु पनि छन् नि ?
त्यो त उहाँहरुले सचिवालयमा उठाएको रडाको हो । अब कसकसले उठाएका थिए त्यो दुनियाँलाई थाहा छ ।
सचिवालयका माधव नेपाल, झलनाथ, नारायणकाजी, प्रचण्ड, विष्णु पौडले सबैले स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा नमाग्ने भनेका छन् नि ?
म उहाँहरुको नाम लिन चाहन्न । मैले त बैठकको कुरा गरिरहेको छु । कहीं पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, निश्कासन गर्नुपर्छ भनेर कहिल्यै बोलेको छैन । बाहिर सार्वजनिक ठाउँमा आजसम्म सुन्नुभएको छ । जबसम्म बैठकमा हो, त्यहाँ त हरेक कुरा उठाइन्छ । तर, सचिवालयकै नेताहरु कहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुहुन्छ कहिले हुँदैन भन्नुहुन्छ । त्यसकारण रडाको मच्चाउने काम उहाँहरुले गरिराख्नुभएको छ । किन त्यसो गर्नुहुन्छ ? बैठकमा छलफल गरेर हिसाबकिताब हुन्छ ।
अहिलेको अवस्थामा स्थायी कमिटिमा पनि ‘एक व्यक्ति, एक पद’ को कुरा उठेको छ नि होइन ?
त्यो त विधानमै स्पष्ट छ नि । ऋषिजी यो पार्टीको विधानमा भएको व्यवस्था र सिंगो पार्टीको मान्यता हो । अनि विधानै नमान्ने ? विधान, संविधानभन्दा माथि को छ यो देशमा ? लौ त कसैले भनोस् त । कसले भन्न सक्छ ?
अब पार्टी विधानअनुसार चल्नुपर्छ सम्झौतामा चल्दैन भन्न खोज्नुभएको हो ?
पार्टीभित्र सम्झौता होइन सहमति हुन्छ । त्यो नभए निर्णय हुन्छ । सकेसम्म हरेक विषयमा सहमति गरेर जानुपर्छ । यो पार्टीलाई एकढिक्का बनाउने पहिलो सर्त हो । यसरी चल्दैन त्यसलाई वैधानिक प्रक्रियामा ल्याउनुपर्छ ।
ईश्वर पोखरेलले पनि केपी ओलीलाई अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुहुन्न भन्नुभयो नि ?
उहाँहरु कसकसे के-के भन्नुभयो, म त्यतारित जान चाहन्न । तर, स्थायी समिति बैठकमा धेरै कुरा उठ्छन् । धेरै कुरामा सहमति गरेर जानुपर्ने हुन सक्छ । अत्याधिक बहुमतको सरकार भएकाले त्यसलाई जनताको हितमा कसरी सञ्चालन गर्ने । काम गर्ने तर खान नपाउने मजदूका बारेमा ध्यान दिने कि नदिने कम्युनिस्ट पार्टीको सरकारले ? अर्को व्यापक रुपमा सत्ताको दुरुपयोग भएको छ । यस्तो बेलामा भ्रष्टाचारका कुरा उठेका छन् । एकपछि अर्को तमाम काण्डहरु आइरहेका छन् । त्यो सत्य हो कि होइन, सत्ताको दुरुपयोग भएको कुरा बारम्बार उठिरहेको छ । हिजो जसरी जनताले विश्वास गरेर नेकपालाई मत दिएका छन् त्यसको दुरुपयोग गर्न पाइँदैन । यस्तो कुरा बैठकमा उठाउन पाउने कि नपाउने ? त्यो हुन्छ, हाम्रो दायित्व र कर्तव्य हो, पुरा गर्छौं ।
*THE END*