Logo

प्रधानमन्त्री ओली नयाँ रणनीति बनाउँदै, ईश्वर पोखरेल र विष्णु पौडेलसँग छुट्टै छलफल !



काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सचिवालयका आफू पक्षका सदस्यहरु ईश्वर पोखरेल र विष्णु पौडेलसँग आन्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट मानिने सचिवालय सदस्यद्धय पोखरेल र पौडेलसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

बालुवाटार स्रोतले जनाएअनुसार पार्टीको स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने र बैठक कहिले राख्नेबारे ओलीले नेताद्धयसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यसका अलावा उनले बजेट अधिवेशनमा केन्द्रित रहेर छलफल गरेको पनि स्रोतको दाबी छ ।

हिजो बसेको सचिवालय बैठकको बीचमै छोडेर ओली बाहिरिएका थिए । के कति कारणले ओली बाहिरिएका थिए भन्ने कुरा एकिनका साथ नआएपनि उनी सचिवालय सदस्यहरुसँग रिसाएर नै बैठक कक्षबाट बाहिरिएको बुझिएको छ । बैठकको सुरुवातमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको भनाभन भएको थियो ।

त्यसलगत्तै बरिष्ठ नेता माधव कुमार नेपालसँग उनको चर्काचर्की परेको थियो । बैठकमा स्थायी कमिटीको लागि एजेण्डा र प्रस्ताव तयार पार्नेबारे कुनै छलफल नभएको एक सचिवालय सदस्यले जनाएका छन् । प्रधानमन्त्री ओली नै असन्तुष्ट बनेपछि आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत प्रभावित बनेको छ ।

तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने स्थायी कमिटी बैठक दूई तीन दिनभित्रै बस्ने विश्वास दिलाएका छन् । संघीय संसद भवन परिसरमा प्राईम टाईम्स टेलिभिजनसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो जानकारी दिएका हुन् । त्यतिमात्रै नभएर उनले प्रधानमन्त्री ओलीसँग सहमति गरेर नै बैठकको एजेण्डा र मिति तय गरिनेपनि जनाएका छन् । फाईल तस्विर/प्रधानमन्त्रीको निजी सचिवालय



प्रतिक्रिया दिनुहोस्