Logo

प्रधानमन्त्रीले ज्यानको धम्की दिने ? भीम रावल



काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक बनेका छन् । उनले ओलीको कार्यशैली निरंकुशतारि लम्केको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा गुटगत भेला गरेको र ज्यानको धम्की दिएको आरोप लगाएका छन् । यीनै सेरोफेरोमा रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

हिजो तपाईंहरुले बीस जना बसेर तय गरेको एजेन्डाहरु के के हुन् ?
हामीले धेरै पहिलादेखि पार्टी एउटा विधि, विधान, प्रणाली र पद्धतिबाट चल्नुपर्छ भनेका छौं । राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वतन्त्रतालाई सर्वोपरी राखेर जानुपर्छ । यसमा हाम्रा कार्य सूचिहरु कोरोनाबाट जनताहरु प्रताडित छन् । कोरोनाको कारणले जनजीवीकामा के असर परेको छ । त्यसलाई ध्यान दिनुपर्छ । त्यसको साथसाथै हाम्रो पार्टीको धारा ४९ को (४) बमोजिम हामीले तय गरेका ४ वटा मुख्य विषय छन् । पहिलो कोरोनाको संकटबाट कसरी जनताको जीवन रक्षा गर्न सकिछ त्यसमा छलफल गर्ने । दोस्रो जुन विधेयक ल्याइयो, त्यसलाई फिर्ता गरियो राम्रै भयो । तर, यसको प्रभाव र यसपछि घटेका घटनाहरुको समीक्षा हुनुपर्छ । त्यो अध्यादेश कुन आसय ल्याइयो ? देश विमस प्रस्थितिबाट गुज्रिएको बेलामा के आवश्यक थियो ? तेस्रो अहिले बजेट नीति तथा कार्यक्रम आउँदै छ । त्यसमा हाम्रो देशको अर्थतन्त्रलाई अगाडि बढाउन कसरी हामी सोच्दैछौं ? त्यसको साथसाथै सरकार र पार्टीका कामकारबाहीका बारेमा पनि छलफल गर्नुपर्ने छ ।
प्रधानमन्त्रीले त अहिले नै स्थायी समिति बैठक नडाक्ने भनिसक्नुभयो तपाईंलाई के लाग्छ ?
हामीलाई आश्चर्य लागेको छ । विगत ७० वर्षदेखि नेपाल कम्युनिस्ट पार्टी विधि, पद्धतिबाट चल्यो । त्यो पार्टीको प्रधानमन्त्री र अध्यक्षले विधान पद्धतिलाई मिचेर अगाडि बढिरहनुभएको छ । अनिवार्य रुपमा कुनै पनि कमिटिका सदस्यहरुले बैठकको माग गरे भने जसको २५ प्रतिशत मात्रैले गर्दा पनि त्यसको १५ दिनभित्र बैठक बोलाउनुपर्छ । आज स्थायी समिति बोलाउन माग गरेको १५ दिन नाघिसकेको अभैm व्यवास्ता गरिनु बिडम्बनापूर्ण हो । अर्को जब अध्यादेश विवाद ल्याइयो त्यसपछि बालुवाटारमा बसेर संसदहरु बोलाएर वार्ता गर्ने, भेला गर्ने, आफै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने अनि स्वयंले नै गुटको भेला गर्ने, मान्छेलाई धम्क्याउने, ज्यानको समेत धम्की दिने ? यस्तो क्रियाकलाप देखेर हामीहरु अचम्मित भएका छौं । यस्तो क्रियाकलापले नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको जुन आस्था र विश्वास थियो त्यो गुम्छ । उहाँले त्यो अध्यादेश ल्याउँदा हामीले जुन २० जनाले हस्ताक्षर गरेर दियौं । जसरी पार्टी विभाज उन्मुख हुने अध्यादेश ल्याइएको थियो । त्यसलाई फिर्ता गराएर विभाजनबाट पार्टीलाई जोगायौं । अहिले पनि हामी एकताको पक्षमा छौं । विधि, पद्धति र प्रणालीको पक्षमा छौं । पार्टी विधि, पद्धति र प्रणालीबाट चल्नुप¥यो । हिजो हामी स्वच्छाचारी, निरंकुश व्यवस्था ल्याउन लडेका होइनौं ।
तपाईंहरुमाथि त अहिले स्थायी समितिको माग गरेर बेमौसको बाजा बजाएको आरोप छ नि ?
यो बाजा गाजाको कुरा, चर्चा उहाँहरुले नै गर्नुहुन्छ । अहिले कोरोनाको विरुद्ध देश लडिरहेको बेलामा यो अध्यादेशको बाजा कसले बजायो । जुन अध्यादेश पार्टीलाई विभाजन गर्ने मनस्थिति सिर्जना गर्ने र पछि चौतर्फी आलोचना भएएपछि वाध्य भएर फिर्ता गर्नुपर्ने अध्यादेशको बाजा कोरोना नियन्त्रणको लागि थियो कि ? कुनै ठाउँमा पीसीआर बाँड्नलाई बजाइएको थियो कि ? जो खान नपाएर सडक, बाटोमा अलपत्र परिरहेका छन् उनीहरुलाई सुविधा दिन ल्याइएको थियो । अनि बाजा कसले बजाएको छ नेपाली जनतालाई सोध्दा हुन्छ । के हामीले बजाएका रहेछौं ? लकडाउन गरेपछि सबैजना घर–घरमा छन् । कतैबाट विवाद आउँदैन यही बेलामा पार्टी विभाजन गरिदिनुपर्छ भनेर कस्तो विधेयक ल्याइएको थियो ।
अब संसद् चल्दैछ, अनि पार्टीको स्थायी कमिटि बैठक बोलाउने बेला हो र ?
अनि हामीले स्थायी कमिटिको बैठक काम गर्ने निर्णय गर्न बोलाएका छौं कि ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ गर्न । हामी यो बैठक संकटको बेलामा कसरी प्रभावकारी ढंगले काम गर्न सकिन्छ भनेर बोलाका हौं । पार्टीका नेता, कार्यकर्ता लाई अप्ठ्यारो पर्दा छलफल बहस भएन भने । जनतालाई संकट परेका बेलामा छलफल, बहस हुँदैन, पार्टीका सदस्यहरुले विचार, दृष्टिकोण राख्न खोज्दा छलफल बहस, छलफल हुँदैन भने पार्टीको काम के त ? कुनै व्यक्तिविशेषको स्वार्थलाई वरिपरि घुमाउनका लागि मात्रै हो त नेपाल कम्युनिस्ट पार्टी ? यतिबेला मुलुक कोरोनाको कारणले संकटग्रस्त छ, भोलि के हुने कसो हुने हो भनेर । उत्पादनमा समस्या छ ।
सीमानामा आएका मान्छेहरु ४५ दिनदेखि घर आउन नपाएर रोइरहेका छन् । तपाईंहरुले नै देखिरहनुभएको छ । उहाँसँग कुनै संक्रमण पनि छैन । तोकिएको मितिभन्दा बढी क्वारेन्टाइनमा बसिसक्नुभयो । अरु देशका मान्छेहरु हवाइजहाज चार्टर्ड गरेर स्वदेश लगेका छन् । हाम्रो देशका नागरिकलाई सीमानामा आइपुग्दा पनि भित्र ल्याउन पाइँदैन । अनि यस्तो कुराको छलफल गर्न आवश्यकता छैन भने यो पार्टीको आवश्यकता के ? कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन ? अध्यक्ष बनाउन अथवा कुनै अर्को पद सिर्जना गरेर दिन ?
तपाईंहरुले त प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर राजीनामा गराउन स्थायी समिति बोलाइरहनुभएको छ नि ?
त्यो घेराबन्दी कसले गर्यो ? उहाँले पार्टी विभाजन गर्ने अध्यादेश ल्याएर विवाद निम्त्याउने अनि हामीले घेराबन्दी गरेका हुन्छ । म यहीबाट नेपाली जनतालाई सोध्न चाहन्छु ‘घेराबन्दी गर्ने काम हामीले गरेको हो ?’ हामी त कोरोनासँग कसरी लड्ने ? घरघरमा बसेर लकडाउनको पालना गसरी गर्ने ? हामी त त्यो काम गरिराखेका थियौं । त्यस्तो बेलामा पार्टी फुटाउन सजिलो विधेयक कुन आसयले ल्याउनुभयो । महोत्तरीसम्मका मान्छेहरुलाई काठमाडौं ल्याएर एउटा कुनै पार्टी फुटाउने फोहोरी खेल खेलियो । त्यतिखेर सत्ताको फोहोरी खेलको प्रमाणित भएको छ । अबदेखि नेकपामा अरु सदस्यले चाहेमा केहीपनि हुँदैन त ? अनि सचिवालय बस्ने ‘ल तिमीलाई मन्त्री, मलाई प्रधानमन्त्री, तिमीलाई उपाध्यक्ष पद’ भन्ने । संविधान हामीले जे उद्देश्यबाट ल्यायौं त्यसमा राष्ट्रिय विषयको छलफल गर्नुनपर्ने । यस्तो कदाचित हुन सक्दैन । सरकार पार्टीबाट चल्नुपर्छ । मैले अगाडि पनि भनिसकेको छु ‘सांसद्हरुलाइ धम्की दिइएको छ, मन्त्रीहरुलाई धम्की दिइएको छ’ यस्तो गम्भीर विषयमा छलफल हुनुपर्छ भन्दा काम केही नपाएर बाजा बजाएको हुन्छ ? नचाहिने अध्यादेश ल्याएर बेमौसको बाजा आफू बजाउने अनि अरुलाई भन्ने ?
प्रधानमन्त्री नीति तथा कार्यक्रमतिर लागिसकेपछि तपाईंहरु ब्याक हुने कि नहुने ?
त्यो नीति तथा कार्यक्रममा नेकपाका अरु कुनै पनि सदस्यले छलफल गर्ने अधिकार छैन ? त्यो व्यक्तिगत मामला हो ? हामीले पनि हिजो निर्वाचन क्षेत्रमा मत मागेका छौं । घोषणापत्र जारी भएको छ । पार्टीका नीति, उद्देश्य छन् त्यसको बारेमा पार्टीमा कुनै छलफल गर्नुपर्दैन । के हामी अब पुरानै निरंकुश व्यवस्थातिर फर्किन खोजेका हौं ? मलाई लाग्छ त्यस्तो होइन ।
नीति तथा कार्यक्रमको बारेमा संसद् छलफल गर्ने भनिएको छ नि ?
अनि संसद् नीति तथा कार्यक्रम ल्याउने पार्टीमा छलफल गरेर होइन ? त्यसोभए अब पार्टी व्यवस्था भंग भयो ? संसद्मा जाने कसलाई के गर्न मन लाग्छ त्यहीं गर्ने पार्टीका कुनै सदस्यको मतलबै छैन । कानुनी राज्यको त्यसको उलंघन गर्न पाइन्छ ? त्यसले निरंकुस व्यवस्थातिर फर्किएको संकेत हुँदैन ?
तपाईंहरुले एक व्यक्ति एक पदको कुरा किन उठाउनुभयो ?
अध्यक्षद्वय अध्यक्षको कुरा गर्नुहुन्छ । हामी उपाध्यक्ष चुनिएका होइनौं । महासचिव चुनिएका थिएनन् । अरुलाई चाहीं यो त नयाँ पार्टी हो नि भन्ने अनि आफू पदमा बसिरहन चाहीं म त अधिवेशनबाट चुनिएको भन्ने ? अनि तर्क मिल्यो ? हामी बीस जनाले उठाएको जम्मा दुईवटा कार्यसुचि हो । एउटा कोरोनाबाट जनजीवनमाथि परेको प्रभावको बारेमा छलफल गरौं । अर्को जब हामी कोरोनाबिरुद्ध लडिरहेको अवस्थामा अध्यादेश किन ल्याइयो ? किन जनमत संग्रह गरेर जाओं न त यो बेलामा अध्यादेश ल्याउन ठीक कि अहिले हुँदैन भन्ने ठीक भनेर ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले त केपी ओलीसँग ७० जनमत छ अनि भीम रावलले जनमतसंग्रह गर्ने भन्नुभयो नि ?
जनमतसंग्रह किन गर्नुपर्यो ? स्थायी कमिटिको बैठक बोलाएर त्यही मतदान गरौं न । त्यसपछि जनतामा जाओला । जनतामा जान पनि कोही पछि हट्नेवाला छैन । त्यस्ता चुनौति हामीलाई दिनुपनि पर्दैन । हामी पनि जननिर्वाचित प्रतिनिधि । पार्टी भनेको सामूहिक संस्था हो । यसमा सामूहिक रुपले विधानबाट चल्नुपर्छ । यदि विधानबाट जुन व्यक्ति चल्दैनन् तिनले कि त निरंकुशतन्त्र खोज्दैछन् कि त सत्ताको उन्मादमा जे मन लाग्यो त्यो गर्ने प्रवृत्ति देखिन्छ ।
यो बजेट अधिवेशनमा सरकारमाथि आक्रमक भएर आउनुहुन्छ कि सहयोगी भूमिकामा ?
सरकारप्रति आक्रमक हुने भन्ने प्रश्नै होइन । हामी यो पार्टीका सदस्य पार्टी र सरकार लोकप्रिय होस् भन्ने चाहन्छौं । तर, सरकारमा बस्नेहरु भने ‘काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर’ भनेजस्तो कोरोको महामारीमा लड्ने बेलामा पार्टी फुटाउने अध्यादेश लिएर आउनुहुन्छ । बैठक बोलाउन नचाहनु भएको उहाँहरुको कामहरु सबै गलत छन् । यसले के बुझिन्छ भने उहाँहरुले गल्ती गर्नुभएको छ । त्यसको कारणले बैठक अगाडि उभिन नसकेर बैठक बोलाउनु भएन ।
कार्यकारी अध्यक्ष प्रचण्डले चाहिं किन बैठक बोलाउन चाहनुभएन त ?
त्यो त उहाँलाई नै सोध्नुपर्छ । उहाँहरु कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । अब अस्ति बैठकको बीचबाट प्रधानमन्त्री भाग्नुहुन्छ । समाचारमा प्रधानमन्त्री एकदम रिसाएपछि बैठकै रोकियो रे । त्यसो भए अबदेखि फलानो, फलानो व्यक्तिको पेवा हो भनौं । कुर्सी, पद, शक्ति भनेका अस्थायी कुरा हुन् । हदै भए तीन वर्ष चल्ला त्यसपछि के हुन्छ यो पार्टी ।-File Photo



प्रतिक्रिया दिनुहोस्