Logo

पूर्व प्रधानन्यायाधीश पराजुलीको गम्भिर प्रश्न : न्यायालयमा पार्टीको लेबी बुझाउनेहरुको बाहुल्यता छ, अनि कसरी स्वतन्त्र हुन्छ ?



काठमाडौं, २६ वैशाख । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले कानून दिवसभन्दापनि न्याय दिवस मनाउनुपर्ने सुझाव दिएका छन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले कानून दिवसको सट्टा न्याय दिवस मनाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्,”न्याय प्रणाली बलियो बनाउनुपर्छ । अदालतमा भ्रष्टाचार भएको छ । न्यायलयमा भ्रष्टाचार छ । न्यायलयमा पार्टीको लेवी बुझाउनेहरुको बाहुल्यता छ । अनि न्यायालय कसरी स्वतन्त्र हुन्छ ? कसरी चल्छ ?”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारमा भेटेको कुरामा आपत्ति जनाए । उनले न्यायको सिद्धान्तअनुसार पनि प्रधानमन्त्री निवास गएर प्रधानन्यायाधीशजस्तो व्यक्तिले प्रधानमन्त्रीलाई भेट्न नहुने तर्क गरे । उनले भनेका छन्,”सार्वजनिक कार्यक्रम र निम्तोको कार्यक्रमबाहेक जान पाउँदैन् । यसरी भेट्नु गलत हो ।”

उनले अहिले देशमा संकट रहेको र परिस्थिति त्यति राम्रो नभएको पनि टिप्पणी गरे । न्यायालय आर्थिक रुपमा चलखेलको अखेडा बनेको पनि उनको गम्भिर आरोप छ । उनले भनेका छन्,”अहिले न्यायको सिद्धान्तअनुसार मुद्दा फस्र्यौट हुँदैन् । न्यायालय कसैको शिखण्डी बन्नुहुँदैन् ।”



प्रतिक्रिया दिनुहोस्