Logo

हिन्दू स्वयमसेवक सङ्घ विचार परिवार र पशुपति गौशला धर्मशालाद्वारा दैनिक ३७६० जनालाई खाना वितरण जारी (फोटोफिचर)



काठमाडौं, २७ बैशाख । हिन्दू स्वयम् सेवक सङ्घ, परिवार र श्री पशुपति गौशला धर्मशालाद्वारा कोरोना भाईरस (कोभिड-१९) को कारण नेपाल सरकारले लगाएको लकडाउनमा खान खानबाट बञ्चित परिवारहरुलाई खाना वितरण कार्य जारी राखेको छ । लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहाय, गरिब परिवारहरुलाई सङ्घको केन्द्रीय कार्यालय गौरीघाट (केशव धाम) ले लकडाउनको तेस्रो दिनबाट सुरु गरेको खाना वितरण कार्य निरन्तर जारी राखेको हो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी राखिने पनि जनाईएको छ ।

सङ्घले २० दिन पशुपति र गुह्यश्वरीमा खाना खुवाउँदै आएकोमा खाना खानेको संख्या बढ्दै जाँदा श्री पशुपति गौशला धर्मशालासँग समन्वय गरी अहिले ८ ठाउँमा खाना वितरण गरिरहेको छ । मानवीय मनका दुवै संस्थाहरुले अहिले तार्केश्वर, गैरीगाउँ, नरेफाँट, पेप्सीकोला, शान्तिनगर, कालिमाटी, जैसिदेवल, शिव चौक र सिफलमा गरी ३७६० जनालाई खानाको प्याकेटलगायत सम्बन्धित ठाउँमा खाना, तरकारीको भाँडो नै गाडिमा राखेर खुला तरिकाले कुपनको आधारमा वितरण गर्दै आएको संघका राष्ट्रिय कार्यवहाक महासचिव मुरलीप्रसाद निरौलाले जानकारी दिए ।

निरौला भन्छन्– हामीले सम्बन्धित वडाका वडाध्यक्षसँग सहकार्य गरेर भोजन वितरण गरिरहेका छौं, एक परिवारमा कति जना हुनुहुन्छ त्यहीअनुसारको कुपन दिन्छौं र एक परिवारको एक जनालाई समाजिक दूरीमा राखेर दैनिक विहान–बेलुका भोजन वितरण गरिरहेका छौं ।
महासचिव निरौलाकाअनुसार, खुला भोजन पाँच ठाउँमा गरिँदै छ भने, बाँकी ३ ठाउँमा प्याकेट वितरण गरिरहेका छौं ।

श्री पशुपति गौशला धर्मशालामा दैनिक खाना, तरकारी पाक्छ, प्याकिङ हुन्छ र ४ वटा गाडिमा राखेर खाना कुरिरहेका जनता भएको ठाउँमा पुर्याउँछौं र वितरण गछौं, हामीसँग एक दिनमा ४१७० जनालेसम्म खाना खाएको रेकर्ड भएको दावी महासचिव निरौलाको छ ।

सुरुमा पुरी तरकारी वितरण गरिँदै आएका थियौं, पछि खानाको माग आएकाले खाना वितरण गरिएको हो । हिन्दू स्वयंम् सेवक सङ्घले काठमाडौं भ्यालीमा २२ हजार माक्ससमेत वितरण गरेको थियो ।संघ र संघ विचार परिवारहरुका स्वयंसेवकहरुले सुन्दरीजलमा पनि ६ सय जनालाई खाना पकाउँदै वितरण कार्य निरन्तर जारी राखेका छन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्