Logo

कोरोना परिक्षणको दायरा नबढ्दा जोखिम उच्च



वैशाख २७, काठमाण्डौ । नेपालमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेको छ । संक्रमण फैलिन नदिन मुलुक लकडाउन गरिएको डेड महिना पुगिसक्यो । यो अवधिमा सरकारले परिक्षणको दायरा बढाउन सकेन । बरु लकडाउन खुकुलो बनाउन बाध्य भएको छ । यो अवस्थाले नेपालमा कोरोनाको जोखिम अझै बढ्ने त्रास बढेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको डेढ महिना बितेको छ । गत चैत ११ गते औपचारिक रूपमा घोषणा गरिएको लकडाउन पटक पटक गरी चौथो पटक म्याद थप गरेको सरकारले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आगामी जेठ ५ गतेसम्मलाई लकडाउन कायम राख्ने निर्णय गरेको छ । विश्वभर नै कोरोनाको जोखिम कम गर्नका लागि लकडाउनलाई उत्तम विकल्प मानिएको छ ।

तर अरु देशले लकडाउनसँगै परिक्षणको दायरालाई पनि फराकिलो बनाउँदा नेपालमा भने दैनिक दुई हजार परिक्षण पनि हुन सकेको छैन । लकडाउनले मात्र कोरोनाको जोखिम कम नहुने भन्दै विज्ञहरुले जतिसक्दो धेरै परिक्षण गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

कम्तिमा पनि दैनिक ३ देखि ४ हजारसम्म परिक्षण गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा बाबुराम मरासिनी बताउँछन् । तर सरकारले न समयमा स्वास्थ्य सामग्री खरिद गर्न सक्यो न पर्याप्त जनशक्ति परिचालन गर्न सक्यो । जसले गर्दा अझै पनि नेपाल जोखिमै छ ।

सबैभन्दा धेरै १४ लाख संक्रमित भेटिएको अमेरिकामा अहिलेसम्म ८७ लाख नागरिकको कोरोना परिक्षण भइसकेको छ । ६० हजार संक्रमित भेटिएको भारतमा १५ लाख २५ हजारको परिक्षण सकिएको छ । तर नेपालमा लकडाउन अवधि डेड महिना नाघ्दा जम्मा करिब १६ हजारको मात्रै पीसीआर विधिबाट परिक्षण गरिएको छ । आरढिडटी विधिबाट करिब ५५ हजार परिक्षण भए पनि त्यसलाई विश्वसनीय मानिएको छैन ।

यसैबीच सरकारले मुलुकभर कोरोना परिक्षणको दायरा बढाउदै लगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल पिसिआर किट्स प्रयाप्त रहेको भन्दै कोरोना परिक्षणको दायरा बढाउदै लगेको जनाएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले अहिले ५० हजार भन्दा बढि पिसिआर परिक्षण किट्स रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्