काठमाडौं, २८ वैशाख । राजनीतिज्ञ र सिमाविदहरुले नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट वार्ता गरि हल गर्नुपर्ने तर्क गरेका छन् । तर, सीमाविद डा. बुद्धिनारायण श्रेष्ठले नेपाली पक्षले भारतसँग वार्ता गर्दा कुनै तयारी नै नगरेको आरोप लगाएका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद साउद र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता केशब बडालसँगै उपस्थिति भएका श्रेष्ठले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो गुनासो पोखेका हुन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे नेपालले गृहकार्य राम्रो गर्नुपर्ने सुझाव दिए ।
सीमा विवाद समाधानको लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्रीस्तरमा वाताचित गरेको र यो समस्या समाधानको लागि पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई विशेष दूत बनाएर समेत पठाउन खोजेको स्मरण गराउँदै श्रेष्ठले भने,”तर भारतले माधव नेपाललाई विशेष दूत बनाएर पठाउने कुरा स्विकार गरेन् । किन गरे भने मेरो मोटो बुझाई छ, किनभने भारत यो विवाद समाधानको लागि पछि पर्छ, उसँग प्रमाण छैन् । हामीसँग प्रमाण छ ।”