काठमाडौं, २८ वैशाख । भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि डा. सिंह नयाँ दिल्लीस्थित् एम्स अस्पतालमा आज भर्ना भएका हुन् । उनी अस्पतालको कार्डियो थोरासिस विभागमा चिकित्सको निगरानीमा छन् । कांग्रेसका प्रभावशाली नेता सिंहको उपचारमा डा. नितिश नाइकको नेतृत्वमा चिकित्सकको टोली खटिएको भारतीय सरकारी समाचार एजेन्सी पिटिआईले उल्लेख गरेको छ । सिंह आज पौन ९ बजेतिर अस्पताल भर्ना भएका हुन् ।
८७ वर्षीय सिंहको पछिल्लो स्वास्थ्य सूचकहरु राम्रो छ । छातीमा असहज महशुस गरेपछि उनलाई आज अस्पताल लगिएको हो । सिंह विपक्षी दल कंग्रेस आईका बरिष्ठ नेता हुन् । र, उनी अहिले राज्यसभाका सदस्य हुन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए । सन् २००९ मा सिंहको एम्स अस्प्तालमै सफल रुपमा कोरोनरी बाईपास सर्जरी भएको थियो ।