वैशाख २९, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले भारतले नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाएको भन्दै अन्तर्राष्ट्रिय अदालत जानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्ने सत्तारुढ दलका सांसदहरूले यस्तो माग गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीकी प्रतिनिधिसभाकी सांसद गंगा चौधरीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले भारतले नेपाली भूमि चोरेर बाटो बनाएको भन्दै अन्तर्रा्ष्ट्रिय अदालत जानुको विकल्प नभएको बताएकी हुन् ।
त्यस्तै, अर्का नेकपाका सांसद घनश्याम खतिवडाले पनि अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको र चीनको पनि असल नियत नदेखिएको उनको भनाइ थियो । त्यस्तै, नेकपाकै सांसद खगराज अधिकारीले पनि नेपालको भूमिमा बारम्बार विदेशी हस्तक्षेपको सिकार बनेको बताए । लिपुलेकमा बाटो बनाएर नेपालको राष्ट्रिय हितमाथि वैदेशिक हस्तक्षेप भएको भन्दै देश जोगाउन एक ठाउँमा उभिन सबैलाई आग्रह गरे ।
त्यस्तै, नेकपा सांसद गणेशकुमार पहाडीले लिपुलेकमा निर्माण भएको बाटो तत्काल रोक्नुपर्ने बताए । उनले सो क्षेत्रमा नेपालको राजनीतिक र प्रशासनिक उपस्थित गराउँदै तत्काल भारतसँग वार्ता अघि बढाउन पनि माग गरे । अर्का नेकपाका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय अतिक्रमण हटाई नेपालको स्वामित्व कायम गर्न माग गरे ।
दार्चुलाको व्यास गाउँपालिका वडा नं १ को कौवा भन्ने स्थानमा सशस्त्र प्रहरी र ‘ब्याक सपोर्ट’मा नेपाली सेनाको ब्यारेक राख्न पनि उनले माग गरे । सत्तारुढ दलकै अर्का सांसद गजेन्द्र महतले ‘लकडाउन’ले प्रमुख जिल्ला अधिकारीहरुलाई ‘छोटे राजा’ बनाएको आरोप लगाए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले जनताको दुःखलाई ध्यान नदिएको भन्दै व्यंग्यात्मक बालकवितामार्फत् सरकारको आलोचना गरेका थिए ।
सांसदहरु अभिषेकप्रताप साह, अमरेशकुमार सिंह, अमृतादेवी अग्रहरी र उमा रेग्मीलगायतले कोरोना संक्रमणबाट जोखिममा रहेका र भारतसँगको सिमानामा अलपत्र परेका नेपाली नागरिकलाई आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर स्वदेश फर्काउन माग गरेका थिए ।।