काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टी, नेपालकी नेतृ तथा सांसद चन्दा चौधरीले नेपाल भारत सिमा अहिले कडाई गरिएको र यसमा नेपालका सुरक्षा निकायले ठूलो योगदान पुर्याएको बताएकी छिन् । उनले भनिन्,-“भारतबाट हुलका हुल आए भन्नु गलत हो । यो अफवाह हो । लकडाउनको क्रममा म तीन पटकसम्म सीमा नाकामा पुगेको छु । न त नेपालबाट भारततिर कोही गएका छन्, न त उताबाट कोही नेपाल आएका छन् । भारतीय नागरिकहरु नेपाल आए भन्नु एकदमै गलत हो । लकडाउनमा बोर्डर खुकुलो र फितलो बनाईएको छ भन्ने कुरा म मान्दिन् ।”
सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद चौधरीले लकडाउन समयमै लगाएको कारण नेपालमा कोरोनाको संक्रमण नदेखिएको भन्दै खुशी व्यक्त गरिन् । चौधरीले नेपाल भारत सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिनुपर्ने सुझाव दिईन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिधै फोनमार्फत कुराकानी गर्नुपर्ने उनको तर्क छ ।
उनले भारतीय दूतावासमा स्कुले विद्यार्थीहरु लगेर विरोध गर्ने, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र त्यो देशको झण्डा जलाएर समस्याको समाधान नहुने पनि जिकिर गरिन् । समस्याको समाधानको लागि त कुटनीतिकस्तरमा वार्ता हुनुपर्ने उनको भनाई छ । उनले अघि भनिन्,”नेपाली जनताले उठाएका माग र मुद्दा ठीक छन् । तर, गर्ने भनेको त सरकारी निकायले हो । हाम्रो प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई फोन गर्न सक्नुहुन्थ्यो । हिजो र आजै भारतले रोड बनाएको त होईन होला ।”