Logo

क्लब २८ द्वारा ३५० जनालाई वितरण गर्दै आएको खाना आजबाट स्थगित्



काठमाडौं ३१ बैशाख । बागबजारस्थित क्लब २८ ले सर्वसाधरणहरुलाई वितरण गर्दै आइरहेको खाना वितरण कार्यक्रम आजबाट स्थगित गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) ले गर्दा नेपाल सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनलाई ध्यानमा राखेर क्लब २८ ले बागबजार स्थित पिके कलेज अगाडि सर्वसाधारणलाई खाना प्रदान गर्दै आइरहेको थियो।

लकडाउनका कारण घर जान नपाई समस्यामा परेका दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका बेखर्ची मजदुरहरु र विपन्न परिवारहरुलाई तयारी खाना वितरण गर्दै आएको थियो । वैशाख ४ गतेदेखि सुरु गरिएको उक्त खाना वितरण कार्यक्रम आज वैशाख ३१ गते स्थिगित गरिएको हो ।

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेको भन्दै प्रहरीले क्लबलाई खाना वितरण कार्यक्रम बन्द गर्न निर्देशन दिएअनुसार आजबाट खाना वितरण गर्ने मानवीय सेवा कार्यलाई बन्द गर्नु परेको अध्यक्ष अरुण तण्डुकार बताउँछन् । सुरुमा १५० जनाका दरले खाना प्रदान गर्दै आएको क्लबले अन्तिमका दिनहरुमा प्रत्येक दिन ३५० जनासम्मलाई खाना प्रदान गरेको अध्यक्ष तण्डुकारको भनाई थियो ।

क्लबका कोषाध्यक्ष कृपाल तण्डुकारकाअनुसार दैनिक आठ हजार रुपैयाँ मूल्य बराबरको खाना वितरण गरिँदै आएको थियो । क्लब २८ र समाजसेवी प्रगतिमान रञ्जितको आर्थिक सहयोग रहेको कोषाध्यक्ष तण्डुकारले जानकारी दिए ।

क्लवका कोषाध्यक्ष कृपाल तण्डुकार, सचिव निना खड्गी, सदस्यहरु रविन शाही, रोजन शाही, आश्रित श्रेष्ठ, शिव तन्डुकारलगायतले खाना पकाउनेदेखि वितरणसम्म सहयोगी भूमिका निर्वाह गर्दै आएका थिए । सचिव निना खड्गी भन्छिन्– काठमाडौंको लकडाउन र कोरोना सङ्क्रमितको स्थितिलाई हेरेर यो सेवा कार्यलाई पूरै बन्द राख्ने कि सुरु गर्ने क्लबभित्रका कार्यसमितिको बैठक बसेर निर्णय गरिने छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्