Logo

लकडाउनमा ट्राफिकमैत्री सडक निर्माण र मर्मत कार्य जारी



काठमाडौं, ३१ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ । महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look & Go लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ ।

यस्ता बोर्डहरू शङ्खमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन् । ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्चसतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।

एसएसपी ढकालले भने-“सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्व-अनुशासित बनाउन यस्ता लेखिएको संकेत बोर्डहरू राखेका हौँ ।”

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैङ्कले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन् ।

कहाँ–कहाँ हुँदैछ सडकमा काम ?

लकडाउनको समयमा सडक खाली भएको रगाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ ।

अहिले सितापाईला९रामकोट, स्वयम्भू अजिमा हल अगाडी, भैसेपाटी-छम्पी, लुभु-लामाटार, चावहिल उकालो, जोरपाटी-बाग्मती कोरीडर सडक खण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।

त्यस्तै, थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडी, चावहिल-मित्रपार्कका सडक खण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला-तिलगङ्गा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवाचोक सडक खण्डमा टेलिकमको काम, चुच्चेपाटी-चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको कामसमेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी दिए ।

उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए । ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पिच र रोड मार्किङको काम सम्पन्न गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्