काठमाडौं, १ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।
पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन निर्देशन दिएको छ। सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम