काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरिरहेकी छिन् । उनले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।
कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।