Logo

शिक्षिकाद्वारा निर्माणाधीन घरमै आत्महत्या



विकास रौनियार, धादिङ । सदरमुकाम नीलकण्ठमा एक शिक्षिकाले आफ्नै घरमा पासो लगाइ आत्महत्या गरेकी छिन् । रुवीभ्यालीको दोङदेङ माध्यमिक विद्यालयमा पढाउने ३० वर्षीया शिक्षिका चाँदनी तामाङले सदरमुकामस्थित निर्माणाधीन घरमा पासो लगाइ आत्महत्या गरेको धादिङ प्रहरीले जनाएको छ ।

श्रीमान् विजय तामाङले विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ मा घर निर्माण गने क्रममा उनी सदरमुकाममै रहेकी थिइन् । आत्महत्याको कारण खुल्न नसके पनि आत्महत्या गर्नुपूर्व लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन उनले आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखेर आफन्तहरुलाई बोलाइएको प्रहरीले जनाएको छ ।

एक महिनामा औषत सात जनाले कुनै न कुनै तरिकाबाट आत्महत्या गर्ने गरेका धादिङमा बितेको चार वर्ष अवधिमा ३ सय ७ जनाले आत्महत्या गरीसकेका छन्, जसमा १ सय २८ जना महिला र १ सय ७९ जना पुरुष रहेका छन् । आत्महत्या गर्ने अधिकांशले झुण्डिएर र विष सेवन गरेर गर्ने गरेका छन् भने केहिले हाम्फालेर समेत आत्महत्या गरेका छन् ।

धादिङको चार वर्षलाई हेर्ने हो भने २ सय ६ जनाले झुण्डिएर, ९८ जनाले विष सेवन गरेर र २ जनाले हाम्फालेर आत्महत्या गरेका छन् । प्रियजन गुमाउँदा, जागिर गुम्दा, दीर्घ रोगले सताउँदा, व्यापार बिग्रँदा,जीवनमा अकल्पनीय परिवर्तन हुँदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृत तथा वैदेशिक रोजगारको कारणले पनि आत्महत्या गर्नेको संख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पीडा सहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।-घटना र विचारबाट



प्रतिक्रिया दिनुहोस्