काठमाडौं, ३ जेठ । राष्ट्रिय समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको असामयिक देहान्तभित्रको रहस्य अन्त गर्नुपर्ने बताएका छन् । उनले यसको रहस्य अन्त्य गर्ने र सत्य स्थापित गर्ने योभन्दा अनुकुल समय अर्को हुन नसक्ने बताए ।
तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग जीवराज आश्रितको पुण्यतिथीमा ट्वीटमार्फत देहान्तको रहस्य अन्त गर्न नसक्नेले उनीहरुको उत्तराधिकारीको दाबी गर्न नसक्ने बताए । भट्टराईले मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओली बहुमत सरकारको प्रधानमन्त्री भएकोतर्फ संकेत गर्दै यस्तो अनुकूल समय अरु हुन नसक्ने बताएका हुन् ।
३ जेठ २०५० मा मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो । घटनाको अनुसन्धान भएपनि रहस्य अझै मेटिएको छैन । जीप चालक अमर लामा बाँचेको घटनामा उनको पनि घटनाको दश वर्षपछि २०६० सालमा हत्या भएको थियो ।
उनले ट्वीटरमा लेखेका छन्-
मदन-आश्रितको स्मृतिलाई कर्मकाण्ड नबनाऊँ! वहाँहरूका सद्विचार र सद्कर्महरूबाट प्रेरणा लिऊँ!वहाँहरूको असामयिक देहान्तभित्रको रहस्य अन्त्य गर्ने र सत्य स्थापित गर्ने यो भन्दा अनुकूल समय अर्को हुन सक्दैन।त्यो गर्न नसक्नेले वहाँहरूको उत्तराधिकारको दावी गर्न मिल्दैन!हार्दिक श्रद्धासुमन!