काठमाडौं, ३ जेठ । कोरोना भाइरसको आशंकित मृतक महिलाको कोभिड १९ टेष्टको रिपोर्ट सार्वजनिक हुँदैछ । उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा रिपोर्ट सार्वजनिक हुन लागेको हो ।
विश्वस्त स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटबाट त्यसको जानकारी दिइनेछ । महिलालाई कोरोना भाइरसको संक्रमण भएको भनिएपनि यसको आधिकारिक पुष्टि भएको छ ।
रिपोर्ट सार्वजनिक नहुँदै सम्भावित त्रास र रोकथामलाई दृष्टिगत गरी गाउँ र माइती दुवै शिल्ड गरिएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महिलाको सिन्धुपाल्चोक घर भएको खुलाएका छन् । उनी २४ वैशाखमा नर्मल रुपमा बच्चा जन्माएर भोलिपल्टै शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएको नियमित पत्रकार सम्मेलनमार्फत अपरान्ह जानकारी दिएका छन् ।
तर, देवकोटाले ती महिलाको कोरोना भाइरसको संक्रमण हो होइन पुष्टि नभइसकेको बताएका थिए । २९ वर्षीया महिलामा ज्वरो र स्वास प्रश्वासको समस्या भएपछि स्थानीय अस्पतालमा नै उपचार गराएकी थिइन् । उपचारपछि पनि निको नभएपछि उनलाई आकस्मिक रुपमा धुलिखेल अस्पताल लगिएको थियो । डा. देवकोटाको अनुसार महिलाको बाटोमा नै मृत्यु भएको थियो । अस्पताल पुग्दा उनी मृत घोषित गरिएकी थिइन् ।