Logo

होसियार ! गृहमन्त्रालयले दियो कडा चेतावनी



जेठ ४, काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, आवागमनका क्रममा दुर्व्यवहार गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

‘मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजाय हुने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले पछिल्ला दिन स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुन थालेको भन्दै त्यस्ता घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले त्यस्ता घटनाहरु दोहोरिए कारबाही गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताका नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवगमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि वाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन’ गृह मन्त्रालयले भनेको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरी अवाञ्छित गतिविधि कुनैपनि निकाय वा व्यक्तिहरुबाट नगर्न र नगराउन अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्