काठमाडौं, जेठ ५ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लामो समयदेखि जारी नेपाल—भारत सीमा विवाद समाधानका लागि सरकारले भारत सरकारसँग मात्र नभई चीन सरकारसँग पनि गहन ढंगले प्रमाणसहित वार्ता गर्नुपर्ने बताए । उनले एक दुई पटकका वार्ता र भारतसँग मात्रै गरेको वार्ताले समस्याको समाधान नहुने भन्दै त्रिदेशीय सहमतिमा नै सीमा विवाद सुल्झने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै कोइरालाले सुगौली सन्धीमा लिम्पियाधुरा महाकाली नदीको मुहान हो भन्ने प्रस्ट नगरेको र कालीनदी नेपाल—भारतको सीमा हुने भनेकाले यस विषयमा गम्भिर ढंगले प्रमाणहरुसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग चरण चरणमा वार्ता गर्नुपर्ने धाराणा राखेका छन् ।
कोइरालाले ६५ वर्ष अघि २०१२ सालदेखि भारत र चीनले पटक पटक लिपुलेकबाट धार्मिक पर्यटक भित्राउने र व्यापार गर्ने भनेर सम्झौता गर्दै आएकाले भारतीले लिपुलेकमा सडक बनाउनु पनि यसैको परिणाम भएको उनको भनाई छ । उनले भारत र चीनबिच धेरै अगाडी देखि सहमति हुँदै आएपनि नेपाल सरकारले कुरा उठाउन नसकेको भन्दै अब भारत र चीन दुवै देशका प्रमुखहरुसँग प्रधानमन्त्री आफैले वार्ता गर्नुपर्नेमा समेत जोड दिए ।
डा कोइरालाले सडकमा आन्दोलन गरेर सीमा विवाद समाधान नहुने भएकाले भएका प्रमाणहरु खोजेर भारतसँग कुटनीतिक सम्बन्ध बढाउनुपर्ने बताए । परराष्ट्रमन्त्रीले संसदमा पहिले नै थाहा थियो भने पनि प्रधानमन्त्रीले आफुलाई थाहा नभएको भनेर वैदेशिक कुटनीति कम्जोर हुनेगरी जग हसाएको उनको दाबी छ ।
कोइरालाले भने,‘ सीमा विवादका विषयमा भारतले नेपालसँग कुरा गर्नुपर्छ । गर्दैन भन्ने विषय नै आउदैन । छिमेकी हो विवाद हुन्छ । त्यसैले कूटनीतिक बार्ता मात्रै हो नेपाल भारत सीमा का विषय मिलाउने भनेको । दुई देशबिचमा उचित ढंगको वार्ता नहुँदा नेपाल र भारतबिच धेरै विवाद छ सीमामा । बार्ता भइरहेको पनि छ । मोदी र ओलीबिचमा बार्ता हुनुपर्छ । लामो छलफल डकुमेन्ट राखेर गर्नुपर्छ । चीन र भारतसंँग ओलीले बार्ता गर्नुपर्छ । चीन पनि बोल्नुपर्छ । चीनले केहि बोल्छ’।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोनाको महामारीबाट मुक्ति पाउन कठिन हुने भन्दै सरकारकै कम्जोरीका कारण नेपालमा कोरोना संक्रमणले भयावह रुप लिने दावीसमेत गरे । कोरोनाका कारण दुई जनाको मृत्यु भएको तर, दुवै अस्पतालमा उपचार नपाएकाले लकडाउन भरी कुनै पुर्वाधार र आवस्यक सामाग्रीको बन्दोबस्त नगरी सरकार सुतेर बस्दा भयावह स्थिति आउने खतरा बढेको उनको भनाई छ ।
कोइरालाले भने,‘ सरकारले ल्याएको नीति तथा कार्यक्रम हैन । यसमा न नीति छ न कार्यक्रम छ । कोरोनाको महामारिमा पौने ३ घण्टाको अनावस्यक विषय ल्याउने काम थिएन । कोरोना कसरी हटाउने, श्रमिकहरुलाई के गर्ने, स्वास्थ्य क्षेत्रको विकास र पुर्वाधार कसरी बढाउने र राहत दिनुपर्ने क्षेत्र कुन हुन भनेर हेर्नुपर्ने थियो । आएन । पानी जहाजका र रेलको के आवस्यक छ । २० प्रतिशतले रेमिटेन्स घट्छ । पर्यटन शुन्यमा झर्छ । कोरोना आएको बेला सुकुम्बासी आयोग बनाएर कार्यकर्तालाई जागिर खुवाउने कार्यक्रम ल्याएर हुन्छ ।’