Logo

अफगान राष्ट्रपति घनीलाई अमेरिकी विदेशमन्त्रीको बधाई



५ जेठ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घनी र अफगानिस्तानमा उहाँका प्रतिद्वन्दी अब्दुल्लाह अब्दुल्लाहलाई बधाई दिनुभएको छ ।

उहाँहरुबीच पछिल्लो समयमा भएको शक्तिको बाँडफाँटको विषयलाई लिएर उहाँले अफगान राष्ट्रपति घनी र उहाँका प्रतिद्वन्दीलाई फोनमार्फत बधाई दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

विदेशमन्त्री पोम्पेओले सोमबार उहाँहरु दुवै जनालाई फोन गर्नुभएको थियो । सो फोनवार्तामा उहाँले अफगानिस्तानको राजनीतिक गतिरोध हटाउने गरी दुवै जनाले शक्तिको बाँडफाँट गरेकोमा बधाई दिनुभएको थियो ।

अफगानिस्तानमा हालै सम्पन्न निर्वाचनपछि राष्टपति घनी र अब्दुल्लाहबीच शक्तिसंघर्ष चर्किएको थियो । त्यस शक्तिसंघर्षका बाबजुद उहाँहरुबीच हालैमात्र अधिकारको बाँडफाँट भएको थियो । जसअनुरुप डा.अब्दुल्लाह राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिको अध्यक्षका रुपमा रहनुभएको छ ।

त्यस फोनवार्तामा उहाँले अमेरिका सधैँ अफगानिस्तानमा शान्ति र राजनीतिक स्थायित्वको पक्षमा रहेको बताउनुभएको थियो । अफगानिस्तानका राष्ट्रपति घनी र अर्का नेता डा.अब्दुल्लाहबीच कार्यकारी अधिकार कसले प्रयोग गर्ने भन्ने विषयमा केही महिनायतादेखि नै विवाद रहेकोमा उहाँहरुले आपसमा अधिकारको बाँडफाँट गर्नुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्