५ जेठ : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाले आइतबार गरेको शक्ति बाँडफाँडको बिषयबारे अफगानिस्तानमा मिश्रित प्रतिक्रिया आएको छ ।
गत वर्ष भएको निर्वाचनमा दुबै नेताले आफ्नो पक्षमा निर्वाचन परिणाम आएको जनाउदै अफगानिस्तानको नेतृत्वको दावी गर्दै आएका थिए । यसै विवादका कारण अफगानी राजनीतिमा देखिएको अस्पस्टतालाई समाधान गर्ने भन्दै दुई नेताहरूबीच सम्झौता भएको हो ।
फेब्रुअरी १८ मा निर्वाचनको परिणामलाई करिब पाँच महिनापछि सार्वजनिक गर्दै राष्ट्रपति घानीलाई राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो तर घानीका प्रतिश्पर्धी अब्दुल्लाले निर्वाचन परिणामलाई अस्वीकार गरेपछि अफगानिस्तानको राजनीतिमा समस्या उत्पन्न भएको थियो । दुवै नेताले आफ्नो पक्षमा निर्वाचन परिणाम आएको भन्दै गत मार्च ९ गते राष्ट्रपतिका रूपमा सपथ लिएका थिए ।
सम्झौतापछि राष्ट्रपति घानीले राष्ट्रप्रमुखका रूपमा अफगानी राजनीतिको नेतृत्व गर्नुहुनेछ भने अब्दुल्लाले तालिवान समूहसँग शान्तिवार्ताको नेतृत्व गर्नुहुनेछ । सरकारमा ५० प्रतिशत मन्त्रीसहित प्रान्तीय गभर्नर अब्दुल्ला समूहको भागमा परेको छ ।
यसै बिषयमा अफगानिस्तानका नागरिकहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । अधिकांश नागरिकले नेताहरूबीच भएको सम्झौताले मुलुकलाई सही राजनीतिक दिशा दिने प्रतिक्रिया दिएका छन् । सम्झौतापछि राष्ट्रपतिले टेलिभिजनमार्फत संक्षिप्त सम्बोधन गर्दै भन्नुभयो, “अफगानिस्तानका जनताले निकट भविष्यमा युद्धविरामको महशुस गर्नेछन् र अब्दुल्लाको नेतृत्वमा शान्ति प्रक्रिया शुरू हुनेछ ।”
अब्दुल्लाले पनि मुलुक युद्ध, राजनीतिक अस्थिरता र महामारीका कारण प्रभावित बनिरहेको छ र सम्झौताले यी सबै सङ्कटको समाधान गर्नेछ ।
काबुलका स्थानीय नदिर खोस्टीले सिन्ह्वालाई सोमबार प्रतिक्रिया दिँदै नेताहरूबीचको सम्झौताले नागरिकमा आशा पलाएको बताउनुभयो ।
“हामी तालिवान समूहसँग शान्ति प्रक्रिया र कोभिड–१९ विरूद्धको लडाईमा छौँ । त्यसैले राजनीतिक अविश्वासलाई समाधान गर्दै अघि बढ्नुपर्छ ।”
अर्का सैयद जाफरले सिन्ह्वासँग भन्नुभयो, “तालिवान लडाकूले आक्रमण र सामुहिक हत्यालाई बढाउँदै गएका छन् । मलाई लाग्छ प्रमुख नेताहरूबीचको सम्झौताले अफगानिस्तानमा शान्ति र स्थिरता कायम हुनेमा विश्वास थपिएको छ ।”
त्यस्तै सम्झौतालाई संयुक्त राष्ट्रसंघीय नियोग (यूएनएएमए)ल प्रशंसा गरेको छ । नियोगले भनेको छ, “यो महत्वपूर्ण सहमतिका लागि दुबै पक्षले सम्झौता गरेका देखिन्छ । आशा गरौँ अफगानिस्तानले आगामी दिनमा शान्ति र स्थिरतातर्फ बढ्नेछ ।
तर काबुलकै अर्का एक स्थानीय तथा विद्यार्थी फतिमा सिद्दिकीले भने सम्झौताले अफगानिस्तानको राजनीतिलाई तात्विक फरक नपार्ने बताउनुभयो । यो मात्रै उनीहरूको शक्ति बाँडफाँड हो । यसबाट जनतालाई आशावादी बन्ने आधार खासै देखिन्न ।सिन्ह्वा File photo