Logo

दुई जना शिक्षक मिलेर किशोरीमाथि बलत्कार, गर्भवती भएपछि एक पक्राउ अर्का फरार



बझाङ, जेठ ७ । सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । गत फागुन १२ मा पीडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन् । प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक ओलीलाई सोमबार राति पक्राउ गरिएको हो ।

अर्का आरोपित शिक्षक जोशीको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई कानुनअनुसार कारबाही हुनुपर्ने र सुरुमा डिएनए चेक गर्नुपर्ने महिलाअधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीको भनाई छ ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर माविका शिक्षक शिवराज जोशी र अर्का दाई नाता पर्ने भैरव आधारभूतका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्