Logo

केपी ओलीका कारण धेरै खेल्ने शक्तिहरु पराजित भए, राष्ट्रवादी शक्ति बलियो भयो : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपाल सरकारले कालपानी, लिपुलेक र लिम्पियाधुरा राखेर नेपालको नक्शा पास गर्नु अत्यन्तै खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने-‘नेपालमा धेरै शक्तिहरु खेल्ने सँधैं, कसलाई हराउने, कसलाई जिताउने, कसलाई आर्थिक सहयोग गर्ने ? कति कमजोरहरुलाई मन्त्री बनाउने ? त्यसबाट आफूलाई फाईदा लिने जुन शक्तिहरुको चलखेल थियो, त्यो कुरा अहिले तीन वटा कुरा पार्लियामेन्टमा देखिए । सरकारलाई नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेताले के भन्नुभयो भने तिमी नक्शा जारी गर, शेरबहादुरजीले, प्रकाशमानजीले, सशांकजीले बडा स्पष्ट रुपमा भन्नुभयो कि तपाई नक्शा लिएर आउनुहोस भनेर । राष्ट्रिय कुराहरुमा अत्यन्तै राम्रो सहमति तपाईले एउटा देख्नुभयो । आन्तरिक कुराहरुमा यी यी कुराहरु पुगेनन्, अहिले चूनौतिको घडी हो । तिमीले यसमा यो फिक्स रुपमा यी यी कार्यक्रम लिएर आउ भन्ने बहस भयो । नेपालको ईतिहासमा राष्टको ईस्युमा संयुक्त रुपले गएको तपाईले देख्नुभयो । तेस्रो कुरा के देख्नुभयो भने जतिसुकै भित्री वा बाहृय शक्ति खेलेपनि, जतिसुकै सिग्नेचर भएका चिठ्ठीहरु प्रकाशन गर्न सफल भएपनि केपी ओलीले आफ्नो क्याविनेटमा ए मन्त्रीहरु तिमीहरु नडराउ, तिमी खुट्टा नकमाउ, हामीसित प्रमाण छ, यो चाहीँ हाम्रो नेपाली भूमी लिएर आउँछौं भन्दाखेरि एक त धेरै खेल्ने शक्तिहरु पराजय भएका छन्, दोस्रो उनीहरुले पालेका मानिसहरु जो विदेशी शक्तिहरुले अरु शक्तिहरुले पालेका मान्छेहरु कमजोर भएका छन् । नेपालमा अहिले राष्ट्रवादी शक्ति बलियो भएको छ । त्यसकारणले मैले अत्यन्तै खुशी व्यक्त गरेको छु ।’

विपी कोइरालाजस्तो मान्छेले देशको निम्त बोल्दा उनको सरकार १८ महिनामै ढलेको पनि भण्डारीले स्मरण गराए । उनले थपे-“उनीहरुलाई जेल हालियो, किसुनजीजस्तो मान्छे आश्रममा बस्नुपर्यो । सुशिल कोइरालाजस्तो मान्छले भारत भ्रमण रद्द गर्नुभयो तर सधैं रोकिने रहेनछ नि, सबै देशका निम्ति एक ठाउँ हुने रहेछ नि त । नेपालको पहिचान राखेको मलाई आज अत्यन्तै खुशी लागेको छ ।”



प्रतिक्रिया दिनुहोस्