Logo

नयाँ नक्साः ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थप



काठमाण्डौं, जेठ ८ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्सामा अतिक्रमित भूमि थपिएपछि ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थपिएको छ। नयाँ नक्सा सार्वजनिकसँग अब नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भएको छ। पुरानो नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अतिक्रमित क्षेत्रका गुन्जी, नाभी, कुटीलगायत गाउँ समेटिएका छन्।

भूमि व्यवस्था मन्त्रालयका अनुसार सन् १८१६ मार्च ४ मा तत्कालीन इष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार नयाँ नक्सा तयार गरी सार्वजनिक गरिएको हो। सुगौली सन्धिमा काली नदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको उल्लेख छ।

तर प्रचलित नेपालको नक्सामा काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायत गाउँ रहेको भूमि भाग समेटिएको छैन। त्यसैले गुन्जी, नाभी र कुटीसहित नसमेटिएको भूभाग देशको सिमानाभित्र पर्नेगरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिनेगरी नेपालको नक्सा अद्यावधिक गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्