काठमाडौँ, ८ जेठ । नेपाल–ताइवान एशोसिएशनले काठमाडौँ महानगरपालिका (कामनपा)का खुशी वहिल तथा त्यस वरपर क्षेत्रका दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने ६० घरपरिवारलाई राहत वितरण गरेको छ । आय आर्जन नभएर दुःख पाएका व्यक्तिलाई प्राथमिकतामा राखेर एशोसिएशनका प्रतिनिधिले सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी उनीहरुको अवस्था बुझेर राहतस्वरुप चामल, दाल, नुन, तेललगायत खाद्य वस्तु उपलब्ध गराएको छ ।
एशोसिएशनका अध्यक्ष राजु गुरुङ नेतृत्वको कार्य समितिले ताइवानमा बसेर व्यक्तिगत खर्च सङ्कलन गरी स्वदेशमा कोभिड–१९ का कारण अप्ठेरामा परेका केही नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिए । उक्त कार्यक्रमा पन्जा, मास्कलगायतका स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।
गत चैत १७ गते कामपाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यन्वयन हुन नसकेका कारण विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।
उक्त संस्थाले काभ्रेपलाञ्चोकको चन्देनी मण्डन–२ मा विद्यालय, धुर्मुस–सुन्तली फाउण्डेशनको सामाजिक कार्यलाई सहयोग पु¥याउन, राष्ट्रिय अविष्कार केन्द्र, कालीकोट हस्पिटलका साथै बाढी पीडितलाई आर्थिक सहयोग गरेको एशोसिएशनका नेपालस्थित प्रतिनिधि निवेन्द्र प्रधानाङ्गले जानकारी दिए ।
पाँच वर्ष अगाडि गएको भूकम्पका समयमा पनि विभिन्न जिल्लामा सहयोग उपलब्ध गराएको एशोसिएशनले आगामी दिनमा समेत थप सहयोग बढाउने संस्थाका अर्का प्रतिनिधि केदारमान सिंहले बताए । आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि एक सातापछि सार्वजनिक स्थानमा निःशुल्क भोजन उपलब्ध गराइने जनाइएको छ । तस्वीर/कृष्णराज गौतम