Logo

हेलिकप्टरबाट ३२ वर्षीया सुत्केरीको उद्धार



खाँदबारी, ९ जेठ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार गरिएको हो ।

उहाँ यही जेठ ४ गते जिल्ला अस्पतालमा सुत्केरी हुनलाई भर्ना हुनुभएको थियो । कार्कीको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि यहाँ नसक्ने भन्दै जिल्ला अस्पतालबाट नोबेल अस्पताल विराटनगर सिफारिस गरिएको अस्पतालका निमित्त प्रमुख सुपरिटेण्डेन्ड डा सुन्दरश्याम झाले जानकारी दिनुभयो । उहाँका अनुसार, नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । त्यसपछि दुई हप्ता अस्पतालमा नै आराम गरेर बस्नुपर्ने चिकित्सकले सुझाव दिए पनि उहाँलाई बिहीबार बेलुकी सङ्खुवासभास्थित घर ल्याइएको थियो ।

घर आइपुग्ने बित्तिकै राति बिरामी परेपछि आज बिहानै जिल्ला अस्पताल खाँदबारी ल्याएको र बिरामी बेहोस अवस्थामा पुगेकाले अपराह्न हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । कार्कीलाई आज ४ः०० बजे चिकित्सकको सल्लाहमा काठमाडाँैको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो । रासस



प्रतिक्रिया दिनुहोस्