काठमाडौँ, ११ जेठ : सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश रहनुभएकी सुशीला सिंह ‘सिलु’ को आत्माको चिर शान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।
काठमाडौँ जिल्लाको सोह्रखुट्टेमा १९९६ साल फागुन २२ गते जन्मनुभएकी सिंह २०५८ वैशाख ६ गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति हुनुभएको थियो भने २०५९ साल पुस १५ गते स्थायी न्यायाधीश पदमा नियुक्त भई २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिनुभएको थियो ।
बैठकले पूर्व न्यायाधीश सिंहको शुक्रबार भएको असामयिक निधनले न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको छ । पूर्व न्यायाधीश सिंहको निधनले न्याय र कानूनी क्षेत्रमा क्षति भएको र सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा रहँदा उहाँले न्यायालयको श्रीवृद्धिका लागि योगदान अतुलनीय रहेको सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विशेषगरी देवानी र फौज्दारी कानूनको क्षेत्रमा विशेष दखल राख्ने एक निर्भीक, मिलनसार, मृदुभाषी, न्यायको मर्मज्ञ, कानूनको क्षेत्रमा अनुभवी न्यायिक व्यक्तिका रुपमा रहनुभएको थियो । उहाँको शनिबार अन्तिम संस्कार गरिएको छ । रासस