काठमाडौं, १२ जेठ । सरकारले नेपालको नयाँ नक्शा जारी गर्दा सबैभन्दा चर्को स्वरले समर्थन गर्नेमा राजवादी पनि छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंशा गरिरहेका छन् ।
तर, संसदमा राजावादीको एक सिट मात्र छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सिट मात्र जित्दा र समानुपातिकमा मत प्रतिशत नपुग्दा बीऊ मात्र जोगिएको छ । झापाबाट कृष्णप्रसाद सिटौलालाई हराएर चुनाव जितेका राजेन्द्र लिङ्देन संसदमा सैद्धान्तिक रुपमै एकमात्र राजावादी हुन् ।
सिमा र नक्शाको विषय उठेपछि भने राजावादीहरुको सक्रियता र लोकप्रीयता विगतभन्दा बढेर गएको छ । अहिले ओलीपछि कोही लोकप्रीय छन् भने मनिषा कोइराला, कमल थापालगायत छन् । मनिषा कोइराला राजसंस्थाको पक्षधर हुन् । कमल थापा राजसंस्थाको एजेन्डा नै बोकेर चुनाव लड्दै आएका छन् ।
सिमाको विषय जोडतोडले उठिरहँदा राजावादीहरुको सक्रियता अर्थपूर्ण छ । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आलंकारिक राजा हुनुपर्नेमा जोड दिदै आएका छन् । राप्रपाको लाइन हिन्दु राष्ट्र र सेरेमोनियल राजसंस्था छ । अहिलेको राजनीतिक परिस्थितिलाई आफू अनुकूल बनाउन राजावादीहरु योजनावद्ध तरिकाले लागेका छन् ।
नेपाली काँग्रेससँग राजावादीहरुको दुरी कायमै छ । बरु उनीहरु आश्चर्यजनक ढंगले कम्युनिस्ट पार्टीसँग नजिक छन् । विगत चुनावमा पनि कमल थापाले तत्कालिन नेकपा एमालेसँग अघोषित गठबन्धन गरेकै हुन् । अब फेरि थापा ओलीसँग नजिकिदै गएका छन् । राजावादीहरु मौका हेरिरहेका छन् । उनीहरु मौकाको प्रयोग गरी एजेन्डा पुरा गर्न सक्रिय छन् ।